
काठमाडौं । कलाकार तथा निर्देशक नीर शाहले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म ‘कमला मिस’ मार्फत एक दशकपछि निर्देशनमा कमव्याक गरेका छन् । शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त सम्पन्न गरी फिल्मको छायांकन सुरु गरिएको छ।
फिल्ममा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको छ। यसमा निर्देशक निर शाहसँगै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन्। मुख्य सहायक निर्देशकको रूपमा सागर बोहरा छन् ।
विजय मल्ल स्मृति प्रतिष्ठान प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान छन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) छन् । फिल्मको कथा विजय मल्ल को हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।







