हास्यकलाकार दीपकराज गिरी र नायिका प्रियंका कार्की एक्कासी सोमबार काठमाडौंका विभिन्न कलेजमा पुग्दा सबै चकित भए । एक पटक त कलेजमा पढ्ने विद्यार्थीहरुले नै यो सोचे कि कतै दीपकराज गिरी र प्रियंका कार्की पढ्न त आएका होइनन् ? तर पछि थाहा भयो दीपक र प्रियंका आफु अभिनित चलचित्र ‘छक्का पन्जा’ को प्रमोशन गर्न राजधानीका कलेजहरुमा पुगेका रहेछन् । भाद्र २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जाको प्रमोशनलाई आक्रामक बनाउने क्रममा दीपक र प्रियंकाले कलेज क्याम्पिएनलाई अगाडि बढाएका हुन् । पछिल्लो समय चलचित्रको प्रमोशन गर्ने थलो कलेजहरुलाई राम्रो मान्ने गरिन्छ ।
त्यसैले होला छक्का पन्जा यूनिटले पनि चलचित्रको प्रचार गर्ने थलो कलेजलाई पनि बनाएको छ । दीपक र प्रियंका सोमबारदेखि राजधानीका कलेज जान थालेका हुन् । दीपक र प्रियंका काठमाडौंका विभिन्न कलेजहरुमा धाउँदै गर्दा चलचित्रकी निर्देशक दीपाश्री निरौला र कलाकार जितु नेपाल भने मोफसल यात्रामा छन् । यो चलचित्रमा दिपक र प्रियंकासँगै शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको छ ।