बलीउड अभिनेता तथा भारतीय जनता पार्टीका सांसद शत्रुघन सिन्हा नेपाल आएका छन् । उनी मंगलबार दिउँसो साढे ३ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा उनले पत्रकारहरुसँग कुराकानी गर्दै पुनः नेपाल आउन पाउँदा खुसी महशुस गरिरहेको बताए ।
उनी भोली दिउँसो ३ बजे काठमाडौंमा हुने ‘एलजी फिल्म अवार्ड’ का लागि नेपाल आएका हुन् । उनले विमानस्थलमा नेपालको सुन्दरताको तारिफ गर्दै भने, ‘यति सुन्दर देशमा फेरी आएको छु । मलाई नेपालको मायाले यहाँ आइरहन मन लाग्छ’ । धेरै पटक नेपाल भ्रमण गरिसकेका उनले अगाडी थपे ‘पशुपतिनाथको दर्शन गर्नका लागि पनि नेपाल आएको हुँ।’ पत्रकारसँगको कुराकानीको क्रममा उनले प्रस्ताव आएको खण्डमा नेपाली चलचित्र खेल्ने बताउँदै नेपाल आफ्नो लागि दोस्रो घर सरह लाग्ने पनि बताए । शत्रुघनले भोली आफ्नो बायोग्राफी पुस्तक पनि सार्वजनिक गर्नेछन् । उनले पुस्तकले आफ्नो फिल्मी स्टारडमदेखि राजनीतिक करिअरसम्मलाई चित्रण गरेको बताए ।
उनले पत्रकारको प्रश्नको जबाफ दिँदै अगाडी भने-‘छोरीको नामबाट म चिनिनु खुशीको कुरा हो । साथमा छोरी पनि मेरो नामले चिनिएकी छिन् ।’ उनले काठमाण्डौको सोल्टी होटलमा बसेका छन् ।
शत्रुघनले देव आनन्दको चलचित्र प्रेम पुजारीबाट फिल्मी यात्रा सुरु गरेका हुन्। उनि अभिनित पहिलो प्रदर्शित चलचित्र सन् १९६९ को ‘साजन’ हो। सन् ७० र ८० को दशकमा बलिउडमा छाएका उनी पछिल्लो समय माहुवा च्यानलमा कौन बनेगा करोडपतिको भोजपुरी संस्करण कार्यक्रम सञ्चालन गर्दछन्। उनले दुई चलचित्रको निर्माण पनि गरेकी छन्।