चलचित्र ‘नोभेम्बर रेन’ मा ‘डल्ली’ को भुमिका निर्वाह गरेकी छुल्ठिम गुरुङले चलचित्र निर्माणमा हात हालेकी छिन् । ‘नोभेम्बर रेन’ पछि कुनै पनि चलचित्रमा काम नगर्ने बताएकी छुल्ठिमले आफ्नै लगानीमा चलचित्र ‘डायरी’ निर्माण गर्न लागेकी हुन् । मंगलबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र ‘डायरी’ को निर्माण घोषणा गरिएको छ । छुल्ठिम गुरुङ, रेखा थापा, सनी सिंह, राजु लामा, कुशल विष्ट, दिनेश डिसी, रुपा राना, विनोद पौडेल लगाएतका कलाकारहरुको अभिनय रहने चलचित्रलाई अनिल योञ्जनले निर्देशन गर्न लागेका हुन् । चलचित्र ‘डायरी’ को निर्माण घोषणा कार्यक्रममा बोल्दै छुल्ठिम गुरुङले आफु चलचित्र ‘डायरी’ मा ‘जोया’ को भुमिकामा देखिन लागेको जानकारी दिइन । उनले भनिन्, ‘नोभेम्बर रेन’ का लेखक छेतन गुरुङले मलाई डायरीको स्टोरी सुनाएपछि म फेरी अभिनयमा फर्किन लागेको हुँ र चलचित्र निर्माणमा हात हालेकी हुन् ।’
चलचित्र ‘डायरी’ एउटा प्रेम कथा र त्यसको बदलामा आधारित रहने पनि छुल्ठिमले जानकारी दिइन । चलचित्र ‘डायरी’ को घोषणा कार्यक्रममा नायिका रेखा थापा भने उपस्थित भएकी थिइनन् । भाद्र २६ गतेबाट छायाँकन सुरु हुने बताइएको ‘डायरी’ मा नायिका रेखा थापा भिलेन ‘रानी’ को भूमिकामा प्रस्तुत हुनेछिन् । निर्देशक अनिल योञ्जनले रेखा थापाको भुमिकाको विषयमा बोल्दै भने -‘नायिका रेखा थापा चलचित्र ‘डायरी’ मा खलपात्रको रुपमा देखिदैहुनुहुन्छ । उनलाई चलचित्रमा ‘रानी’ भिलेनको रुपमा देख्न पाइनेछ ।’ काठमाडौं, सिमरा र विरगंजमा छायाँकन हुने चलचित्र ‘डायरी’ लाई शिवराम श्रेष्ठले खिच्नेछन् । चलचित्र निर्माणमा छुल्ठिम गुरुङलाई निर्देशक अनिल योञ्जनले साथ दिएका छन् ।