कुनै समय थियो नेपाली चलचित्रमा कलाकार भनेर नै दर्शकहरु हलसम्म जाने गर्थे । तर अहिलेको अबस्था हेर्ने हो भने दर्शकहरु हिरो हिरोइन भन्दा पनि चलचित्रमा जनावरहरुलाई हेर्न हलसम्म जाने गरेको देख्न सकिन्छ । अनौठो नमान्नुस्, अहिलेसम्म तपाईहरुले जुन चलचित्रमा जनावरले अभिनय गरेको देख्नु भएको छ ति चलचित्रहरु अधिकांश सफल भएको पाइन्छ । केही बर्ष अगाडी प्रदर्शनमा आएको नायक निखिल उप्रेती अभिनित चलचित्र ‘पापी मान्छे’ र ‘पापी मान्छे २’ पनि जनावरकै कारण सफल भएको हो भन्दा गलत नहोला ।
यि दुवै चलचित्रमा बाँदर र कुकुरले प्रमुख भुमिका निर्वाह गरेका थिए । निखिल र बाँदरकै कारण पनि यो चलचित्र सफल भएको भन्नेहरु धेरै छन् । यो पहिलो चलचित्र मात्र होइन सायद ‘पापी मान्छे’ मा बाँदर र कुकुरले अभिनय गरेपछि नै हो नेपाली चलचित्रले जनावरलाई मुख्य भुमिकामा देखाउन लागिएको ।दर्शकहरु हिरो हिरोइनका साथै बाँदर र कुकुरलाई हेर्न पनि हल सम्म जान्छन् भन्ने उदारहण हालै प्रदर्शन भइरहेको चलचित्र बृन्दावनले पनि प्रस्तुत गरेको छ किनकी बृन्दावनसँग अरु दुई चलचित्र पनि प्रदर्शनमा आएका थिए । खबरका अनुसार बृन्दावनमा दर्शकहरुले चलचित्रका कलाकारका साथ साथै बाँदरलाई पनि औधी रुचाएको खबर छ । त्यसैले होला निर्माताहरु पनि आफ्नो चलचित्रमा स्टारसँगै जनावरलाई अभिनय गराए आफु सुरक्षित भइन्छ भन्ने महशुस गर्न थालिसकेका छन् ।
त्यस्तै एउटा नेपाली अवार्ड आयोजककर्ताले पनि पुरै नेपाली चलचित्र क्षेत्रलाई मधारीले बाँदर नचाए झै नचाइरहेको धेरैको बुझाई छ । एउटा मधारीले बाँदरको चटक शहरको विभिन्न चोकमा प्रदर्शन गरे झै अवार्ड आयोजक मधारीहरुले पनि विभिन्न अवार्डको नाममा राम्रै चटक प्रदर्शन गरिरहेको देख्न सकिन्छ । अनि त्यो चटकको साक्षी फिल्म क्षेत्रका गन्ने मान्नेलाई बनाइन्छ ताकि त्यो चटकको गरिमा कायम रहोस् । मधारीले देखाउने बाँदरको चटक र फिल्म अवार्डमा देखिने चटकमा खासै अन्तर देखिन्न । जसरी माधारीले शहर, गाउँ, टोल -टोलमा गएर बाँदर नचाएर आम्दानी गर्छ त्यसरी नै केही फिल्म अवार्ड आयोजकले त्यसको सिको गर्न थालेका छन् । तर मनोरञ्जन कै कुरो गर्ने हो भने अवार्डमा भन्दा बढी ताली मधारीले देखाएको बाँदरको चटकमा देख्न सकिन्छ । अवार्डको चटकमा त उद्घोषकले ताली मागेरै हैरान पर्ने गर्छन ।
अवार्ड गरेर आफु अरुभन्दा फरक र ठूलो भइन्छ भन्ने मानसिकताले एउटा अवार्ड आयोजकले केही दिन अगाडी मधारीले बाँदर नचाए झै गरि अवार्ड वितरण गर्दा खुबै आलोचना खेप्नु परेको थियो । तपाईहरुलाई एउटा कुरा यादै होला, सधै मधारी अरुको घरमा गएर बाँदर नचाउँछ र जीविको पार्जन गर्छ त्यसरी नै नेपालका केही अवार्ड आयोजककर्ताले मनोमानी रुपमै अर्थात आफ्नै तरिकाले अवार्ड वितरण गरेर फिल्म इन्ड्रष्ट्रि भजाइरहेको छन् । मधारीले बाँदर नचाउनु र अवार्ड आयोजकले फिल्म इन्ड्रष्ट्रि, यसमा केही फरक छ त ?