चलचित्र ‘सन्तान’बाट नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका करिश्मा मानन्धरले आफ्नो फिल्मी यात्रामा सयौं चलचित्रमा काम गरिसकेकी छिन् । एकसमय उनका चलचित्रहरु बक्सअफिसमा राज गर्थे तर अहिलेको अबस्था हेर्ने हो भने उनी चलचित्रमा भन्दा पनि राजनितीमा व्यस्त छिन् । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमा आबद्ध भएकी करिश्माले एक बर्ष अघि फागु चलचित्र निर्माण गरेकी थिइन तर चलचित्र निर्माणमा उनी असफल रहिन् । हुनत, उनले एक दशक अगाडी बनाएको चलचित्र ‘बाबु साहेब’ बाट पूर्ण असफलता हात पारेपछि उनी अमेरिका हानिएकी थिइन । लामो समय अमेरिकाको बसाईपछि उनी फेरी नेपाल फर्किइन र चलचित्र खेल्ने प्रयास गरिन् तर जति चलचित्रमा उनले अभिनय गरिन् त्यसमा उनको उल्लासमय कमब्याक हुन सकेन ।
उनै करिश्मालाई गएको एक दशकमा नेपाली चलचित्रमा उल्लेख्य काम गरेको भनी वुधबार एलजी फिल्म अवार्डबाट ‘दशककी अभिनेत्री’ को अवार्ड दिइयो । तर यो दिनुको कुनै अर्थ देखेनन् चलचित्रकर्मीहरुले । पछिल्लो समय फिल्मबाट भन्दा पनि करिश्माको चर्चा गएको बर्ष बाबुराम भट्टराईको पार्टी प्रवेश गर्दा खुबै भएको थियो । चलचित्रकर्मीहरुले मात्र होइन स्वयं करिश्मालाइ पनि उक्त अवार्ड दिएकोमा चित्त बुझेको छैन । उनको भनाई अनुसार ‘दशककी अभिनेत्री’को अवार्ड आफूलाई नदिएको भए हुन्थ्यो । अवार्ड ग्रहण गरिसकेपछि उनले आफू ‘दशककी नायिका’ नभएको पनि बताएकी थिइन् । हुन सक्छ अवार्ड सम्मान प्राप्तीपछि उत्पन्न हुने विवादबाट बच्न उनले अवार्ड पाएता पन खुसी व्यक्त गर्न भने सकिनन् ।