‘६ एकान ६’ र ‘वडा नम्बर ६’ पछि निर्मल शर्मा, दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको नयाँ चलचित्र ‘छक्का पन्जा’ आजबाट देशव्यापी प्रदर्शनमा आएको छ । एउटै मितिमा एकभन्दा बढी चलचित्रहरु प्रदर्शनमा आइरहेको अबस्थामा चलचित्र ‘छक्का पन्जा’ ले भने सोलो रिलिजको मौका पाएको छ । जुन चलचित्र छक्का पन्जा यूनिटका लागि पनि सुखद कुरा हो । ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ जस्तै छक्का पन्जा सफल बनाउन सोलो रिलिजले राम्रै मद्दत गर्ने पक्का छ । तर सोलो रिलिजमा चलचित्र ‘छक्का पन्जा’ प्रदर्शनमा आएपनि दीपाश्री निरौलाको अग्नी परिक्षा भने आजबाट सुरु भएको छ किनकी यो चलचित्र पहिलो पटक हास्यकलाकार दीपाश्री निरौलले निर्देशन गरेकी हुन् ।
हास्यविधामा निकै जमेकी दीपाश्रीलाई आफु सफल निर्देशक सावित गर्न पनि ‘छक्का पन्जा’ चल्नु निकै आबश्यक छ । देशभर गरि करिब ८० भन्दा बढी सिनेमा घरहरुबाट प्रदर्शन आरम्भ गरेको चलचित्र छक्का पन्जाले मल्टिप्लेक्सहरु मा पनि उच्च शोज पाएको छ । क्युएफएक्स अन्र्तगतका हलहरुमा यो फिल्मले १४ शोज संख्या दिएको छ । जुन संख्या कैटरिना कैफ र सिदार्थ मल्होत्रा अभिनित हिन्दी फिल्म ‘बार बार देखो’ को जत्तिकै हो । चलचित्र ‘छक्का पञ्जा’ मा दीपकराज गिरी, प्रियंका कार्की शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, बर्षा राउतको अभिनय रहेको छ ।