नेपाली चलचित्रकी सोझी नायिकाको रुपमा गरिमा पन्तलाई चिनिन्छ । चलचित्रको पर्दामा होस् या पर्दा बाहिर गरिमा निक्कै साधारण छिन् । गरिमाले आफ्नो फिल्मी यात्राको दौडानमा कहिले पनि अंगप्रदर्शन गरिनन्, त्यसैले पनि हो उनलाई सोझी कलाकारको रुपमा धेरैले चिन्ने गर्छन । आहा चाउचाउको विज्ञापनबाट अभिनय यात्रा थालेकी नायिका पन्तले केही महिना अगाडी मात्र बेल्जियममा बस्दै आएका हरि शर्मा थपलियासँग विवाह गरिन् ।
विवाह गरेपछि उनले अभिनय गरेको चलचित्र ‘तीन घुम्ती’ प्रदर्शनमा आएको थियो तर त्यो चलचित्र कहिले हलमा आयो र कहिले गयो दर्शकहरुलाई नै थाहा भएन । विवाह बन्धनमा बाँधिएपछि नेपाली चलचित्र क्षेत्रमा यति बेला गरिमाको सक्रियता छैन भन्दा गलत नहोला । किनकी उनले हालै बेलायतमा एक रेस्टुराँ सञ्चालनमा ल्याएकी छिन् भने बढी जसो समय अहिले आफ्नै श्रीमानसँग विताइरहेकी छिन् । खबरका अनुसार उनको एक चलचित्र अझै प्रदर्शन हुन् बाँकी छ । तर विवाहपछि निस्क्रिय रहेकी गरिमा आगामी दिनमा नेपाली चलचित्र खेल्ने मनसायमा रहेकी छैनन् ।
केही चलचित्रले सफलता हासिल गरेपनि उनका अधिकांश चलचित्रहरु असफलताको सूचीमा छन् । केही बर्ष अगाडी उनले अभिनय गरेको चलचित्र ‘झोला’ लाई दर्शकहरुले निकै रुचाएका थिए, त्यस चलचित्रबाट उनले उत्कृष्ट सार्क अभिनेत्रीको अवार्ड पनि हात पारेकी थिइन । अहिले पनि दर्शकहरु उनले नेपाली चलचित्रमा काम गरेको हेर्न चाहन्छन् तर अहिलेको अबस्था हेर्ने हो भने उनी लगभग नेपाली चलचित्रक्षेत्रबाट पलायन भइसकेकी छिन् । नेपाली चलचित्र ‘निखिल दाइ’, ‘प्रितीको फूल’, ‘सुन्दर मेरो नाम’, ‘किन लाग्छ माया’ इत्यादि गरी हालसम्म दुई दर्जन नेपाली तथा पाँचवटा भोजपुरी चलचित्रमा काम गरेकी गरिमालाई के अब फेरी पर्दामा दर्शकहरुले हेर्न पाउँछन् वा पाउँदैनन् ? यो त अब समयले नै बताउँला ।