७३ औं भेनिस फिल्म फेस्टिभल २०१६ मा दीपक रौनियारद्वारा निर्देशित फिल्म ‘ह्वाइट सन’ ले ‘इन्टरफिल्म अवार्ड’ जितेको छ। इटालीको भेनिसमा हुने उक्त संसारकै सबैभन्दा पुरानो फिल्म फेस्टिभलको होराइजन (ओरिजान्टी) सेक्सनतर्फ ‘ह्वाइट सन’ सहभागी भएको थियो। धार्मिक विषयमा बहस पैदा गराउने फिल्महरुमध्ये उत्कृष्ट एकलाई यो अवार्ड प्रदान गरिन्छ। ह्वाइट सनले हिन्दु गाउँमा संस्कृति, जाति, राजनीति र पितृत्वका मुद्दा उठाउँदै धार्मिक पक्षबारे बहस उठाएकोमा ‘इन्टरफिल्म अवार्ड’ पाएको हो। शनिबार सम्पन्न भएको ११ दिने भेनिस फिल्म फेस्टिभलको ओरिजान्टी सेक्सनमा १९ फिल्म छानिएको थियो। रौनियारले यसअघि निर्देशन गरेको हाइवे सन् २०१२ मा जर्मनीको ६२ औं बर्लिन फिल्म फेस्टिभलमा छनौट भएको थियो। यो चलचित्रमा दयाहाङ राइ, देशभक्त खनाल, दिपक क्षेत्री, रविन्द्र बाँनिया, आशा मगरातीको मुख्य भूमिका छ ।