आज शुक्रबारबाट २ नेपाली चलचित्र ‘गाँठो’ र ‘ड्राइभर दाई’ देशव्यापी प्रदर्शनमा आएका छन् । गएको हप्ता प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले हल नछोडिरहेको अबस्थामा ‘गाँठो’ र ‘ड्राइभर दाई’ ले प्रशस्त हल भने पाएका छैनन् । अहिले पनि ‘छक्का पन्जा’ हेर्न सिंगल र मल्टिप्लेक्समा दर्शकहरुको भिड लागेका कारण ‘गाँठो’ र ‘ड्राइभर दाई’ को ओपनिङ्ग सुखद नहुने पक्का छ ।
खबरका अनुसार बिहिबार क्यूएफएक्स मल्टिप्लेक्सले ‘छक्का पन्जा’ लाई २३ शो दिएको थियो । आजबाट दोस्रो हप्तामा चलेको ‘छक्का पन्जा’ ले क्यूएफएक्समा १५ शो पाएको छ । मल्टिप्लेक्समा मात्र होइन अहिले सिंगल हलहरुबाट पनि ‘छक्का पन्जा’ उत्रिएका छैनन् । यो अबस्थामा मल्टिप्लेक्स केन्द्रित ‘गाँठो’ र सिंगल हल लक्षित चलचित्र ‘ड्राइभर दाई’ लाई आफ्नो लगानी सुरक्षित गर्न राम्रै संधर्ष गर्नु पर्ने देखिन्छ ।
सुरज भुषाल निर्देशित चलचित्र गाँठोमा नाजिर हुसेन,अभय बराल र नम्रता श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । बीजी फिल्मस्को ब्यानरमा बीएस बलामीले निर्देशन गरेको चलचित्र ‘ड्राइभर दाई’मा किशोर खतिवडा, सीमा केसी, प्रज्ज्वल गिरी, दीनेश शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।