रेखा थापा अभिनित नयाँ चलचित्र पलाँसको रिलिज मिति घोषणा गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार कार्तिक २६ गतेबाट पलाँस देशव्यापी प्रदर्शनमा आउनेछ । यो चलचित्रमा रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया मुख्य भूमिकामा छन् । यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सानु कुमार महर्जनको एक्सन, सुवास कोइरालाको कथा, उज्ज्वल ढकालको सम्पादन, अर्जुन पोख्रेलको संगीत छ ।
केही बर्ष यता आफ्नो व्यानरभन्दा बाहिरको चलचित्रमा काम गर्दा खासै सफल नदेखिएकी रेखालाई यो चलचित्रले कस्तो नतिजा दिने हो त्यो हेर्न भने कार्तिक २६ गते नै कुर्नु पर्नेछ । उनले केही बर्ष अगाडी आफ्नो व्यानर भन्दा बाहिरको चलचित्र ‘तथास्तु’ र ‘जाउँ हिँड पोखारा’ मा पनि काम गरेकी थिइन तर रेखालाई भनेर दर्शकहरु यि चलचित्र हेर्न हलसम्म गएनन् । भन्ने गरिन्छ ‘नेपालमा कोही नायिकाको कारण चलचित्र चल्छ भने ति अभिनेत्री रेखा थापा’ हुन् तर उही रेखा थापाले आफ्नो व्यानरभन्दा बाहिरको चलचित्रमा काम गर्दा फल्प भएको पनि उदारहण छन् ।
हुनत, रेखाले यो बर्ष ‘पलाँस’ सहित ‘डायरी’, ‘हिरो रिर्टन्स’ चलचित्रहरुमा काम गरेकी छिन्, जुन रेखा फिल्मसको व्यानरमा निर्माण भएका होइनन् । आफ्नो व्यानरबाट लगातार चलचित्र निर्माण गर्ने रेखा यो बर्ष भने अन्य व्यानरमा तयार भएका चलचित्रमा काम गर्दैछिन्, त्यसको नतिजा सुखद होला वा दुखद त्यसका लागि भने केही समय प्रतिक्षा नै गर्नु पर्नेछ ।
त्यसो त ‘इन्साफ’, ‘कसम हजुर’ को जस्ता फल्प फिल्म पस्किसकेकी निर्मात्री कृषा चौलागाईको लागि पनि यो चलचित्र चलाउनु कम चुनौती पूर्ण छैन । पात्रलाई न्याय नगर्दा सविर श्रेष्ठ निर्देशित उनको पछिल्लो चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ पनि अपुरो र अधुरो रहेको धेरै समिक्षकहरुको ठम्याई थियो । निर्देशकको काममा हावी हुने सोचका कारण कतै कृषाको यो चलचित्रले पनि पुरानै हविगत वेहोर्ने त होइन भन्ने अडकल बाजी अहिले सिनेवृतमा चल्न थालेको छ ।