देशका ‘हाइप्रोफाइल’ अनुहारको खर्चमा राज्यले करोडौं खर्च गरेको छ । आज मात्र पूर्व राष्ट्रपति राज्यकोषबाट रकम लिएर उपचारका लागि अमेरिका उडेका छन् । तर, दूर्गम गाँउका गरिव जनता आधारभूत उपचार नपाएर मर्नुपर्ने अबस्था छ ।
पूर्वराष्ट्रपछि डा.रामबरण यादवले उपचार खर्चका लागि तीन करोड मागेका थिए । उनलाई अहिले उपचारका लागि सरकारले ६० लाख दिएको छ ।
तर, जाजरकोटमा उपचारका लागि पैसा नभएपछि एक महिला जीवसँगै संघर्ष गरिरहेकी छिन् । आर्थिक अभावका कारण जिल्लाका दुर्गम क्षेत्रका ती महिला १२ वर्षदेखि जीवन–मरणको लडाईंमा छिन् ।
जिल्लाको सवै भन्दा दुर्गम क्षेत्रमा पर्ने रोकायगाउँ–७ का नरेन्द्र गिरीकी २९ वर्षीय श्रीमती रती गिरी विगत १२ वर्ष देखी रोगसँग लडिरहेका छिन् ।
३ छोराछोरीका अभिवावक हुन् गिरी दम्पती । उनीहरु यस अघि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेको वताउँछन् । रतीको पहिले–पहिले कमै छाती दुख्थ्यो ।
स्थानीय स्वास्थ्यकर्मीको सल्लाह अनुसार टिबीको औषधी खाइन् । ९ महिनासम्म औषधी लिदा पनि निको नभएपछि नरेन्द्र रतीलाई लिएर भारत गए । छोराछोरी च्यापेर ५ महिना अघि भारतको सिम्ला गएका थिए ।
‘भारतमा कमाई गदै उपचार गरौँला’ भनेर श्रीमती र छोराछोरी लिएर गएका थिए नरेन्द्र । दुई महिना अघि भारतको सिम्ला हस्पिटलमा श्रीमतीको एक्सरे गराएपछि फोक्सोमा समस्य रहेको देखियो । नरेन्द्रसँग उपचार गर्ने पैसा थिएन । दुई महिना काम गरेर एक्सरेका लागि पैसा जुटाएका थिए । बरु, नेपाली दाजुभाईले सहयोग जुटाएर गाडी भाडा दिए । त्यसपछि नरेन्द्र फेरि गाँउ फर्केका हुन् । भन्छन्, ‘उपचार गर्ने पसा थिएन । घरमै मरौंला भनेर आएको ।’ उनले भने । नरेन्द्रसँग विकल्प थिएन, मरेपनि पत्नी घरमै मरुन भनेर गाँउ फर्केका हुन् ।
रातोपाटी संवाददाताले भारतबाट घर फर्कदै गरेको बेला यो दम्पतीलाई भेटेका थिए ।
रतीलाई १२ वर्ष पहिले सामान्य छाती दुख्ने गरेको थियो । स्थानीय लिम्सा स्वास्थ्यमा निशुल्क पाईने औषधी लिएर उनले खाएकी थिइन् । रोग वल्झिदै जाँदा देवी,देवता देखी स्थानीय जडीवुटी सवै गरेका थिए नरेन्द्रले । केही नलागेपछि अन्तिममा अवस्थामा भारत गएको नरेन्द्र वताउँछ ।
‘लाखै रकम चाहिदो रहेछ फोक्सोको उपचार गर्न हामी संग गाडी भाडा सम्म नभएका मानिसले कसरी उपचार गर्नु ? अन्तिम अवस्थामा सास भएपनि घर पुग्ने ईच्छा अनुसार घर आएको रतीका श्रीमान् नरेन्द्रले भने ।
केही दिन पहिला स्वास्थ्य मन्त्री गगन थापाले कोही नेपाली अव उपचार नपाएर मर्दैनन् भनेका थिए । स्वास्थ्य मन्त्री थापाले रती गिरीका उपचारमा पहल लेलान ? -रातोपाटी