असोज २१ गते ‘किस्मत २’ प्रदर्शनमा आउन लागेको खबर केही महिना देखी नेपाली सिनेवृतमा गरमागरम छ । यो चलचित्रसँग अरु चलचित्र भिड्न सक्दैनन् भन्दै गर्दा निखिल उप्रेती अभिनित चलचित्र ‘किङ्ग’ ले सोही मितिमा प्रदर्शनमा आउने जमर्को कस्यो तर केही दिन अगाडी मात्र प्राविधिक कारण देखाउँदै निर्माण पक्षले ‘किङ्ग’ को प्रदर्शन मिति पोष्टपोन्ड गरेको छ । त्यसपछि यस बर्षको दशैं एकलौटी खाने दाऊमा रहेको ‘किस्मत २’ लाई टक्कर दिन फेरी अर्को चलचित्रले सोही दिनलाई प्रदर्शन मिति तोकेको छ । खबरका अनुसार अब दशैंलाई लक्षित गर्दै ‘किस्मत २’ सँग लड्न ‘सुब्बा साब’ एकसाथ प्रदर्शनमा आउने फाइनल भएको छ । हालै निर्माणपक्षले ‘सुब्बा साब’को पोष्टर पनि सार्वजनिक गरेको छ ।
आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा राजु अधिकारीको निर्देशन छ । निर्देशक अधिकारीले फिल्मले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्र सेवा अनि सन्तान प्रतिको माया र दायित्वलाई प्रस्तुत गरेको बताए ।
हिरामणि न्यौपानेको प्रस्तुतिमा तयार भएको चलचित्रमा जीवन लुँइटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी, दिपक ढकाल र जानवी बस्नेत लगायतको अभिनय छ । चलचित्रमा रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारीको लगानी छ । चलचित्रमा हिरामणि न्यौपानेको कथा र संगीत, शर्मिला न्यौपानेको गीत, कमल राई र गोविन्द्र प्रभातको नृत्य निर्देशन रहेको छ भने मौनता श्रेष्ठले पटकथा तथा संवाद लेखेका छन् ।