चलचित्र ‘झुम्की’ आजबाट देशव्यापी प्रदर्शनमा आएको छ । सोलो रिलिजको मौका पाएको चलचित्र ‘झुम्की’ को लागि भाद्र २४ गते प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ भने तगारो बनेको छ । तेस्रो हप्तामा पनि दर्शकहरुको उल्लेख्य साथ पाइरहेको चलचित्र ‘छक्का पन्जा’ का कारण ‘झुम्की’ को विजनेशमा भने असर पुग्ने चलचित्रकर्मीहरु बताउँछन् । तर सोलो रिलिजको मौका पाएका कारण चलचित्रले केही सुखद व्यापार भने गर्न सक्ने अडकल काटिएको छ । रिलिजको पूर्वसन्ध्यामा बिहिबार साँझ काठमाडौंको विग मुभिजमा प्रिमियर समेत गरिएको चलचित्र ‘झुम्की’ लाई चलचित्रकर्मी देखी पत्रकारहरुले भने निकै रुचाएका थिए । अपिल बिष्ट फिल्मस् र सिनेमा आर्टसको ब्यानरमा संयुक्त रुपमा निर्माण भएको चलचित्र ‘झुम्की’लाई अपिल बिष्टले निर्देशन गरेका हुन् । यो चलचित्रमा रीश्मा गुरुङ शिर्ष भूमिकामा देखिएकी छिन् । उनको साथमा दयाहाङ राई, मलिना जोशी, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । थरुनी केटी र प्रहरीविच हुने प्रेमको कथालाई चलचित्रले उठान गरेको छ ।