विजय लामा विमान चालक हुन् । उनी अहिले नेपाल एयरलाइन्सका सिनियर क्याप्टेनको हैसियतमा राष्ट्रिय ध्वजावाहक विमान उडाउने काम गर्छन । एक कुशल विमान चालकसँगै उनी टेलिभिजन प्रस्तोता, चर्चित कलाकार र कुशल मार्शल आर्टका खेलाडी पनि हुन् । पछिल्लो समय उनले इमेज टेलिभिजनमा सञ्चालन गरेको ‘ब्ल्याक एण्ड वाइट’ नामक टक शो हेर्नु भएकै होला । बोल्ने बोल्ड शैलीले सबैलाई प्रभावित पार्ने विजय लामालाई कलाकार र टेलिभिजन प्रस्तोताका साथ साथै एक विमान चालकको रुपमा पनि सबै नेपालीले चिन्ने गर्छन । दर्जनबढी नेपाली चलचित्रमा समेत काम गरिसकेका विजय लामाले एक हलीउड चलचित्रमा पनि काम गरेका छन् । गएको बर्ष मात्र उनले अभिनय गरेको हलीउड चलचित्र ‘एभरेष्ट’ प्रदर्शनमा आएको थियो । उक्त चलचित्रमा पनि विजय लामा पाइलटकै भुमिकामा देखिएका थिए । चलचित्र ‘एभरेष्ट’मा उनले कर्नेल मदन के.सीको भूमिका निर्वाह गरेका थिए, जसले सन् १९९६ मा सगरमाथामा गएको हिम पहिरोमा परेका आरोहीको उद्धारकालागि महत्वूर्ण भूमिका निर्वाह गरेका थिए । विगत ३३ बर्षदेखि नेपाली चलचित्रमा सक्रिय लामाले ‘आर्दशनारी’बाट चलचित्र यात्रा थालेका थिए । ‘चोखो माया’, ‘राँको’,‘अल्पविराम’,‘जिन्दगानी’, ‘अझै पनि’, ,‘फूलै फूलको मौसम तिमीलाई’ जस्ता चलचित्रहरु उनीद्धारा अभिनित चलचित्र हुन् ।
अहिले उनी एक सामाजिक अभियानमा पनि लागेका छन् । अमरिकी सरकारले गरेको एक अध्ययन अनुसार औसत दैनिक २२ जना पूर्व अमेरिकी सैनिकले आत्महत्या गर्ने गरेका कारण जनचेतना अभिवृद्धि गर्नका लागि उनी पुसअप अभियानमा लागेका छन् । जसले गर्दा आत्महत्या न्यूनिकरण गर्नका लागि जनचेतना फैलाउन सकियोस् । केही दिन अगाडी यूएईको अरवियन मरुभुमीमा सञ्चारकर्मी सन्दिप सापकोटा र नरेश भट्टराईसँग क्याप्टेन विजय लामाले पुसअप गर्दै नायिका प्रियंका कार्की, केकी अधिकारी, नम्रता श्रेष्ठ, नायक कर्म शाक्य, विनय श्रेष्ठ, निखिल उप्रेतीका साथै चलचित्रक्षेत्रका सम्पूर्ण कलाकर्मी, मिडिया र अनलाइन पत्रकारहरुलाई आ-आफ्नो ठाउँबाट जनचेतना अभिवृद्धि गर्नका लागि आव्हान गरेको (भिडियो Click) आफ्नो आधिकारीक फेसबुकमा अपलोड गरेका थिए ।
क्याप्टेन विजय लामाले यो अभियान थाल्नुको वास्तविक कारण यस्तो छ :-
अमेरिकी सरकारले आत्महत्या गर्ने अमेरिकी सैनिकका सम्बन्धमा गरिएको अनुसन्धानले पहिला सोचिएको संख्या भन्दाबढी सैनिकहरुले आत्महत्या गर्ने गरेको बताइएको छ । अमेरिकी सरकारले पूर्वअमेरिकी सैनिकको विषयमा गरेको अहिलेसम्मकै व्यापक अध्ययन अनुसार २२ मध्ये दुई तिहाइ ५० वर्ष माथिका पूर्वसैनिक छन् । अध्ययनले आत्महत्या गर्ने सैनिकको संख्या बढिरहेको देखाएको छ । अध्ययनमा सन् १९९९ देखि सन् २०१० बीचको सैनिक आत्महत्याका घटना समेटिएको बताइएको छ । सन् २०१० मा त प्रत्येक दिन लगभग २२ पूर्वअमेरिकी सैनिकले आत्महत्या गरेको तथ्य समेटिएको छ । यस्ता पूर्वसैनिक इराक र अफगानिस्तान युद्धमा संलग्न सैनिक थिए । अमेरिकी एक मन्त्री एरिक के शिनसेकीले नयाँ तथ्य मार्फत आत्महत्या रोक्ने प्रयास मजबुत बनाउन सहयोग पुगेको भन्दै सवै पूर्वसैनिकको सेवा सुविधामा विशेष ध्यान दिने बताएका छन् ।