सलमान खानले प्रवर्दन गर्ने च्यारिटेवल ट्रष्ट ‘बिइङ ह्युमन’ को नेपालमा दुईटा स्टोर सञ्चालनमा आएको छ । शनिबार दरबारमार्ग र पुल्चोक स्थित लबीम मलमा एकसाथ यसको उदघाटन गरिएको थियो । क्यापिटल बिल्डिङमा बिइङ ह्युमन सेन्टरको उद्घाटन गर्न दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा र पुर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ पुगेका थिए भने लाबिम मलमा नायक अनमोल के.सी र अभिनेता सुनिलकुमार थापाले एकसाथ रिबन काटेर उद्घाटन गरेका थिए । नायक अनमोल केसी पहिलो पटक यसरी रिवन काटन पुगेका हुन् । प्राप्त खबर अनुसार लाबिम मलमा बिइङ ह्युमनको उद्घाटन गर्न अनमोललाई २ लाख पारिश्रमिक दिएर निम्त्याइएको थियो । अनमोल लगभग १ घण्टा त्यहाँ बसेका थिए । अनमोल आउने थाहा पाएपछि उनका फ्यानहरु परिरहेको पानीको समेत पर्वाह नगरि सेल्फी खिच्न र एक झलक हेर्नका लागि मात्रै घण्टौंदेखी प्रतिक्षा गरेर बसेका थिए । जब लाबिम मलमा अनमोल आए त्यसपछि उनलाई सेल्फी खिच्नेले फुर्सद नै दिएन । सलमान खानले प्राय लगाउने टिसर्टमा नेपालका सुपरस्टार नायक अनमोल केसी देखिएका थिए ।
नेपालमा बिइङ ह्युमनको शाखा सन् २०१४ मा खोलिएको थियो तर लामो समय सञ्चालन हुन भने सकेको थिएन । नेपालमा शनिबार उद्घाटन गरिएको क्लोदिङ सेन्टरमा हुने आम्दानीको केही प्रतिशत अनाथालय, भिन्न क्षमता भएका व्यक्तिहरुका लागि र शिक्षाको क्षेत्रमा खर्च गरिने बताइएको छ ।
बलिउडका चर्चित अभिनेता सलमान खानको फाउण्डेसन बिइङ ह्युमन सन् २००७ मा स्थापना भएको हो । बिईङ ह्युमनको क्लोदिङ स्टोरहरु सुरुमा फ्रान्स, बेल्जियम र स्पेनमा खोलिएको थियो । स्टोरमा कपडासँगै घडी पनि उपलब्ध छन्, त्यसमा अब विस्तारै पेन, जुत्ताचप्पल, हेडफोन, पेन ड्राइभ, कपालजन्य उपकरण, डियोडेरेन्ड लगायतका सुविधा छन् । मनिषको मन्दना इण्डष्ट्रिजसँग सलमान खानको गैरमुनाफामुखी संस्था बिईङ ह्युमनको फेसन एपेरल्सको आउटलेट विश्वभर खोल्न सक्ने अनुमति छ । आउटलेटबाट प्राप्त हुने रोयल्टी शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बिईङ ह्युमनको योजना छ ।