नायक निखिल उप्रेती अहिले चलचित्र ‘राधे’ को छायाँकनका लागि पाल्पामा छन् । चलचित्र ‘निर्भय’ को छायाँकन सकाएपछि निखिल ‘राधे’ मा व्यस्त भएका थिए । पहिलो पटक नायक उप्रेती नायिकाद्धय अशिष्मा नकर्मी र प्रियंका कार्कीसँग एकसाथ स्क्रिन शेयर गर्दैछन् । गएको बर्ष प्रदर्शनमा आएको निखिल उप्रेती अभिनित चलचित्र ‘लुटेरा’ को एक गीतमा आइटम डान्स गरेकी प्रियंका कार्कीले अहिलेसम्म नायक निखिल उप्रेतीसँग स्क्रिन शेयर गर्ने अवसर भने पाएकी थिइन । अहिले भने नायिका कार्की पाल्पामा छायाँकन भइरहेको चलचित्र राधेमा निखिल उप्रेतीसँग रोमान्स गरिरहेकी छिन् । नायिका अशिष्मा नकर्मीले पनि पहिलो पटक नायक निखिल उप्रेतीसँग चलचित्र राधेमार्फत स्क्रिन शेयर गर्न लागेकी हुन् । प्राप्त खबर अनुसार चलचित्रको छायाँकन ६० प्रतिशतबढी सकिसकेको छ । जगदिश्वर थापाको लेखन र निर्देशन रहेको चलचित्र ‘राधे’ प्रेम र एक्शनमा आधारित रहेको छ । चलचित्रलाई शुशिल पोख्रेलले निर्माण गरेका हुन् ।