कमै भेटिन्छ चलचित्रको अडियोले यूटयूबमा रेकर्ड बनाएको त्यो पनि नेपाली चलचित्रले । तर दयाहाङ राई र प्रियंका कार्कीको प्रमुख भुमिका रहेको चलचित्र ‘पुरानो डुङ्गा’को एक अडियो गीतले अहिले यूटयूबमा राम्रै हंगामा गरेको छ । ‘हो निर’ बोलको सार्वजनिक अडियोलाई अहिलेसम्म यूटयूबमा साढे ६ लाख बढीले सुनिसकेका छन् । यो कमै चलचित्रका गीतहरुले मात्र यति धेरै भिओर्स पाउने गर्छ । भिडियो गीत नै रिलिज गर्दा अरु चलचित्रले यस्तो भिओर्स नपाइरहेको अबस्थामा मंसीर १० गतेबाट रिलिज हुने चलचित्र ‘पुरानो डुङ्गा’ ले भने अडियो गीतबाट नै हंगामा खडा गरेको छ ।
गीतको शब्द, संगीत र स्वरले अहिले दर्शक, स्रोताहरुको मन राम्रैसँग जितेको छ । काली प्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको उक्त गीतको भिडियो ल्याउन अब निर्माणपक्षलाई तनाब भएको छ । यसअघि काली प्रसाद बाँस्कोटाले नै तयार पारेको चलचित्र ‘रेशम फिलिली’ को ‘पिरतीको छाता’ बोलको गीतले पनि यस्तै चर्चा पाएको थियो । दर्शक, स्रोताहरुले अडियोलाई निकै रुचाएपछि ‘पिरतीको छाता’ बोलको भिडियोको प्रतिक्षा गरेका थिए तर उक्त गीत चलचित्रमा मात्र देखाइयो । धेरैले गीत अनुसारको भिडियो भएन भनेर आलोचना पनि गरे । अब त्यही हविगत कतै ‘पुरानो डुङ्गा’ले पनि बेहोर्नु पर्ने त होइन भन्ने आशंका अहिले धेरैको छ । अब ‘पुरानो डुङ्गा’ यूनिटलाई ‘हो निर’ को भिडियो ल्याउन राम्रै संघर्ष गर्नु पर्ने देखिन्छ भने त्यही अनुसारको चुनौती पनि निर्माणपक्षलाई छ।
‘पुरानो डुङ्गा’ को ‘हो निर’ बोलको गीत हिट भएपछि अब चाँडै निर्माणपक्ष यसको भिडियो सार्वजनिक गर्ने तयारीमा रहेको छ । ‘हो निर’ बोलको गीत सुन्दा चलचित्रमा दयाहाङले प्रियंकालाई फकाउँदै गरेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । ‘कबड्डी र कबड्डी कबड्डी’ बनाएर चर्चा कमाएका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, वुद्धि तामाङ, पुष्कर गुरुङ, धन बहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङको मुख्य भूमिका रहेको छ ।