निर्देशक : अपिल विष्ट
कलाकारहरु : रिस्मा गुरुङ, मनोज आरसी, मलिना जोशी, दयाहाङ राई, प्रमोद अग्रहरी, रविन्द्रसिंह बानियाँ लगायत ।
कहानी
देवकी (रिस्मा गुरुङ), असई गोकुल (मनोज आरसी), झुम्की (मलिना जोशी), इन्सपेक्टर (दयाहाङ राई), फागुराम (प्रमोद अग्रहरी), एसपी कविन्द्र (रविन्द्रसिंह बानियाँ) वरपर चलचित्र ‘झुम्की’ घुमेको छ । चलचित्र मलिना जोशीको अतिथी भुमिका भएपनि चलचित्र भने उनकै कारण घुमेको छ । चलचित्रले यौवनको भोक मेट्न गरिएको प्रेम–नाटकले निम्त्याएको आत्महत्या र हत्यासँगै चोखो प्रेमको दुःखद् अन्त्य देखाएको छ । घरको आर्थिक अबस्था निकै कमजोर भएका कारण देवकी दाङबाट काठमाडौंमा एसपी कविन्द्रको घरमा कामदार भएर जान्छिन् । त्यही एसपी कविन्द्रको घरमा आफ्नो जागिर बचाइँदिन दाङबाट असई गोकुल पुग्छन् । देवकीलाई दुव्र्यवहार गरेको आरोपमा असई गोकुलको जागिर धरापमा परेको हुन्छ र सोही शिलशिलामा उनी एसपी कविन्द्र कहाँ पुगेका हुन्छन् । एसपी कविन्द्रले भोली भेट्न आग्रह गरेपछि असई गोकुल त्यहाँबाट जान्छन् । भोली पल्ट असई गोकुल एसपी कविन्द्रलाई भेट्न गर्न जाँदा उनको हत्या भइसकेको हुन्छ । आखिर कसले गरे एसपी कविन्द्रको हत्या ? कतै घरमा काम गर्न बसेकी देवकीले त होइन ? यो जान्न भने हलसम्म नै जानु पर्छ ।
निर्देशन
चलचित्रको निर्देशकीय पाटो उत्कृष्ट छ । निर्माताबाट निर्देशनमा होमिएका अपिल विष्टले चलचित्रलाई दर्शकहरुले खोजे जस्तै बनाउन सफल भएका छन् । पहिलो भागमा अपिलको खासै कमजोर नदेखिएपनि दोस्रो भागमा भने केही कमजोरी देख्न सकिन्छ । गोकुलले देवकीलाई पछ्याउने सिन धेरै हुँदा दिक्क लाग्छ । त्यसको ठाउँमा प्रहरी अनुसन्धानलाई अझै जोड दिएको भए यसले अन्तिमसम्मै दर्शकमा हुटहुटी पैदा गर्न सक्थ्यो । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको कथा भनेर प्रचार गरिए पनि झम्कीमा त्यसको छनक खासै देखिन्न । चलचिमा थारु समुदायको ‘टोन’ बेला–बेलामा चिप्लिएको छ । ट्रेलरबाट दर्शकहरुले जुन अपेक्षा झुम्कीबाट गरेका थिए त्यसमा भने चलचित्र चुकेको पाइन्छ ।
कलाकारहरुको अभिनय
चलचित्र ‘झुम्की’ राम्रो बन्नुको पछाडी कलाकारहरुको सबैभन्दा ठूलो हात छ । चलचित्रमा काम गरेका रिस्मा गुरुङ, मनोज आरसी, मलिना जोशी, दयाहाङ राई, प्रमोद अग्रहरी, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारहरुको अभिनयलाई खोट दिने ठाउँ छैन ।
हेर्ने कि नहेर्ने
केही फरक धारको चलचित्र हेर्ने सोचमा हुनुहुन्छ भने ‘झुम्की’ ले त्यो भने पूरा गर्छ । कलाकारहरुको अभिनयले तपाईलाई १ घण्टा ५५ मिनेट मनोरञ्जन दिइरहन्छ ।