अमिताभ बच्चनले कुनै पनि फिल्मको सुटिङको अघिल्लो रात आफूलाई निकै बेचैनी हुने गरेको बताएका छन् । बिगत ४० वर्षदेखि निरन्तर अभिनयमा रहेका बच्चन आफूले निर्वाह गर्ने भूमिकालाई कसरी न्याय दिने भन्ने कुराले चिन्तित बनाउने दाबी गर्छन् । ‘म अहिले पनि सुटिङको अघिल्लो रात निकै बेचैन हुने गर्दछु,’ उनी भन्छन्, ‘४० वर्षअघि अभिनय करिअर सुरु गर्दा पनि मलाई यस्तै हुने गर्दथ्यो । अहिले पनि त्यो बानी हटेको छैन ।’ हालै आफू अभिनीत ‘पिंक’ फिल्मबाट राम्रो तारिफ पाएका बच्चनले हरेक सट दिनुअघि भगवान् पुकार्ने पनि खुलाएका छन् । ‘म हरेक सर्ट दिनुअघि राम्रो होस् भनेर भगवान् पुकार्ने गर्दछु,’ ७३ वर्षीया बच्चन भन्छन्, ‘त्यसैकारण होला, मैले अहिलेसम्म पनि काम गर्ने मौका पाइरहेको छु ।’ पिंकमा वकिलको भूमिका निर्वाह गरेका बच्चनले जिन्दगीमा कुनै पनि कुरा सहजै प्राप्त नहुने अनुभव पोखेका छन् ।