असार महिनाबाट सुरु भएको चलचित्र सम्बन्धी अवार्डको मौसम लगभग अब सकिन लागेको छ । यस बर्षका लागि अब नेफ्टा अवार्ड, कामना अवार्ड, इनास अवार्ड र बक्सअफिस अवार्ड मात्र वितरण हुन बाँकी छ । विवाद, मनोमानीका विच पनि अवार्ड कार्यक्रमहरु आयोजना भैरहेका छन् ।
विभिन्न विधामा फरक-फरक कलाकारहरुले अवार्ड जिते पनि उत्कृष्ट नायकको विधामा भने यो बर्ष आयोजना भैरहेका अवार्डमा आर्यन सिग्देल र दयाहाङ राईको बोलबाला देखिएको छ । यस बर्ष आयोजना भएका अवार्डहरुमा गएको बर्ष प्रदर्शनमा आएको चलचित्रबाट आर्यन र दयाहाङले अवार्ड पाइरहेका छन् । यस बर्ष यि दुईलाई अवार्डको दाबेदार मानिएको छ । ‘क्लासिक’ बाट आर्यन सिग्देल र ‘कबड्डी कबड्डी’ बाट दयाहाङ राई अवार्डको मनोनयमा परेका थिए र आर्यन सिग्देलले यो बर्ष अवार्डमा ह्याट्रिक मारेका छन् । उनले यो बर्ष ३ अवार्ड हात पारेका छन् । आर्यनले ‘डि सिने अवार्ड’, ‘एनएफडिसी अवार्ड’ र ‘फान अवार्ड’ बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् भने चलचित्र ‘कबड्डी कबड्डी’ बाट दयाहाङ रार्इले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ र ‘एलजी फिल्म अवार्ड’ हात पारिसकेका छन् । अब सबैको ध्यान पुष ८ गते दुवईमा हुन लागेको ‘नवौं नेफ्टा अवार्ड’ मा छ । प्रतिष्ठित मानिएको नेफ्टा अवार्डको मनोनयन सार्वजनिक नभएपनि यो अवार्डमा आर्यन र दयाहाङको प्रतिस्पद्र्या हुने लगभग पक्का छ । नेफ्टा अवार्डको उत्कृष्ट अभिनेताको अवार्ड चाहिँ कसले पाउँलान त्यो भने पुष ८ गते नै थाहा हुनेछ ।
त्यस्तै कामना अवार्डको सर्वोत्कृष्ट अभिनेताको अवार्ड कसको हातमा पर्ने हुन् त्यो पनि अहिले चासोको विषय बनिरहेको छ । गएको बर्ष भूकम्पका कारण वितरण नगरिएको कामना अवार्ड यस बर्ष कहिले आयोजना हुने हो त्यसको मिति भने सार्वजनिक गरिसकिएको छैन । तर कामना अवार्डमा पनि आर्यन र दयाहाङ नै उत्कृष्ट अभिनेताको दाबेदारमा उभिने पक्का छ । त्यस्तै यस बर्ष सिक्किममा हुन लागेको ‘इनास अवार्ड’ र क्यानडामा हुन लागेको ‘बक्सअफिस फिल्म फयेर अवार्ड’ को उत्कृष्ट अभिनेताको अवार्ड कसले हात पार्ने हुन्, त्यसले पनि अहिले सबैको ध्यान खिचेको छ । अन्य विधामा फरक-फरक कलाकारहरुले अवार्ड जितेपनि उत्कृष्ट नायकको विधामा भने यस बर्ष आर्यन र दयाहाङकै लडाई देखिएको छ ।
अहिलेसम्म आयोजना भएका ५ अवार्ड मध्ये ३ अवार्ड आर्यनको पोल्टामा गइसकेको छ भने २ अवार्ड दयाहाङलाई । अब आयोजना हुन बाँकी ४ अवार्ड कसको पोल्टामा पर्ने हो त्यसको भने प्रतिक्षा नै गर्नु पर्छ । तर आर्यनले ३ अवार्ड हात पारेपनि बलियो भने दयाहाङ देखिएका छन् किनकी उनले यस बर्षको राष्ट्रिय चलचित्र पुरस्कार हात पारेका थिए । ‘राष्ट्रिय पुरस्कार’ चलचित्र विकास बोर्डले राष्ट्रपतिबाट प्रदान गर्ने भएका कारण दयाहाङ राई यस बर्षका उत्कृष्ट अभिनेता हुन् भन्दा गलत नहोला । गएको असारमा चलचित्र ‘कबड्डी कबड्डी’ बाट राष्ट्रपति विद्यादेवी भण्डारीले दयाहाङलाई उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरेकी थिइन ।