हास्यकलाकार हरिवंश आचार्यका कान्छा छोरा मोहितवंश आचार्यले ‘इन्गेजमेन्ट’ गरेका छन् । शनिबार धुलिखेलको एक रिसोर्टमा काभ्रे निवासी विन्दु थापासँग मोहितले ‘इन्गेजमेन्ट’ गरेका हुन् । काठमाडौंको एक मेडिकल कलेजमा डेन्टल विषय अध्ययन गरिरहेकी विन्दु र मोहितबीच मागी बिहे हुन लागेको हो। मोहितका अनुसार दुवै पक्षलाई चिन्ने काभ्रेकै एक व्यक्तिले एक महिनाअघि वैवाहिक सम्बन्धको प्रस्ताव ल्याएका थिए । मोहितले अमेरिकामा रहेका उनका दाइ त्रिलोकको छुट्टी मिलेपछि बिहेको मिति तय गर्ने बताए । त्रिलोकले पनि गएको महिना अमेरिकी यूवतीसँग लगनगाँठो कसेका थिए । हरिवंश आचार्यले निर्माण तथा निर्देशन गरेको थुप्रै टेलिश्रृंखलामा मोहितले अभिनयसमेत गरेका छन्। मोहितले ‘छहारी भई आउनु तिमी’, ‘म मोहित भएछु’ गीतहरु पनि गाएका छन् । गीत संगीतसँग अभिनयमा पनि सक्रिय मोहित पछिल्लो समय कुपन्डोलमा ब्रिक्स क्याफे चलाउँदै आएका छन्।