गएको बर्ष सुपरहिट चलचित्र ‘पशुपतिप्रसाद’ र गएको महिना प्रदर्शनमा आएको चलचित्र ‘चपली हाईट २’ निर्देशन गरेका दीपेन्द्र के. खनालले निर्देशन गरेको नयाँ चलचित्र ‘लभ लभ लभ’ को रिलिज मिति सार्वजनिक गरिएको छ । शनिबार निर्माणपक्षले चलचित्र ‘लभ लभ लभ’ २०७४ बैशाख १ गते रिलिज गर्ने बताएको छ । निर्देशक खनालले आफुले पहिलो पटक पूर्ण लभस्टोरी चलचित्र बनाएको बताए । उनका अनुसार चलचित्रको प्रचार प्रसारलाई आक्रामक बनाउन दशैंपछिबाट प्रचारात्मक साम्रागी सार्वजनिक गरिनेछ । निर्देशक खनालले ‘लभ लभ लभ’ मा सानो कुरामा ठूलो इमोसन खोज्ने प्रयास गरिएको पनि बताएका छन् ।
चलचित्रको मुख्य कलाकारमा स्वस्तिमा खड्का (बस्नेत), सुरज पाण्डे, देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना लगायतका कलाकारहरु छन् । ‘होस्टेल रिटन्र्स’ मा सहायक भूमिकामा निर्वाह गरेकी स्वस्तिमा यसै चलचित्रबाट लिड रोलमा देखिएकी हुन भने सुरजको यो डेब्यु चलचित्र हो । अहिले यो चलचित्र पोस्ट प्रोडक्सनमा रहेको छ । अमृत पाण्डे र शर्मिला पाण्डेको लगानीमा ‘लभ लभ लभ’ तयार भएको हो । चलचित्रको सम्पूर्ण छायाँकन पोखरामा सकिएको हो । चलचित्रका सबै गीतमा सुरेश राईको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । चलचित्रलाई निरज कँडेलले खिचेका हुन ।