अनौठो नमान्नुहोस्, अहिले नेपाली चलचित्रका कलाकारहरुको मात्र होइन केही सुपरहिट चलचित्र निर्देशन गरेका निर्देशकहरुको पनि पारिश्रमिक ह्वात्तै बढेको छ । गएको महिना नायक अनमोल केसीले नयाँ चलचित्र ‘कृ’ का लागि २० लाख पारिश्रमिक लिएको खबर सेलाउन नपाउँदै अनमोल केसीलाई नै आफ्नो चलचित्रमा खेलाएर स्टार बनाएका निर्देशक हेमराज बिसीको पारिश्रमिकले पनि आकाश छोएको छ ।
अनमोल केसीलाई लिएर ‘होस्टेल’, ‘जेरी’ र गएको बर्ष ‘गाजलु’ चलचित्र निर्देशन गरेका हेमराज विसीले एक नयाँ चलचित्रका लागि २५ लाख पारिश्रमिक लिएको बुझिएको छ । ‘गाजलु’ चलचित्रका निर्माता रोहित अधिकारीले आफ्नो नयाँ प्रोजेक्टका लागि हेमराज बिसीलाई २५ लाख पारिश्रमिक लिँदै अनुबन्धित गरेका हुन् । नयाँ बर्षसँगै छायांकनमा जाने चलचित्रलाई रोहित अधिकारी फिल्मस्को तर्फबाट ह्याप्पी प्लानेट फिल्मस्सँगको सहकार्यमा निर्माण गरिनेछ । यो अनटाइटल प्रोजेक्टका लागि निर्माण कम्पनी र निर्देशकविच हस्ताक्षर भएको छ । ह्याप्पी प्लानेटको तर्फबाट दीपक खतिवडा र निर्देशक वीसीले हस्ताक्षर गरेका हुन् । हाल स्क्रिप्टको काम चलिरहेको चलचित्रको नाम भने केही दिनपछि एक कार्यक्रमका बिच औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ । निर्माता अधिकारीका अनुसार चलचित्र लभस्टोरी कथामा निर्माण हुनेछ । यो प्रोजेक्टमा रुपक थापा र थमन भण्डारीले पनि निर्माताको रुपमा सहकार्य गर्नेछन् । चलचित्रको कथा पनि हेमराज आफैको रहनेछ ।
अहिले हेमराज चलचित्र ‘ग्याङस्टार ब्लुज’ को तयारीमा छन् । खबरका अनुसार हेमराजले ‘ग्याङस्टार ब्लुज’ को छायाँकन सकाएर पछि रोहित अधिकारीको चलचित्रलाई समय दिनेछन् ।