काठमाडौंभित्र सन्चालन हुँदै आएका ११ ओटा सिनेमा घरहरुले मनोरन्जन कर नतिर्दा २५ लाख बक्यौता बाँकी रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । हालसम्म काठमाडौं महानगरपालिकाअन्तर्गत् रही सन्चालन भएका सिनेमा घरहरु ११ ओटा छन् । तीमध्ये ६ ओटाको आफ्नै भवन रहेको छ भने पाँचओटा भाडाका रहेका छन् । सन्चालित सबै चलचित्र घरले मनोरन्जन कर नतिर्दा २५ लाख बक्यौता बाँकी रहेको काठमाडौं महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए । अब केही दिनभित्रमा कर नतिरे कानुनी प्रक्रिया अघि बढाउने राजस्व महाशाखाले तयारी गरेको छ । राजस्व महाशाखा प्रमुख ध्रुवकुमारका अनुसार कर नतिर्ने सिनेमा घरको सुविधा कटौती गर्दै लगिने, मालपोत रोक्ने, बैंक खाता रोक्का गर्नेजस्ता कारबाही गरिनेछ । सिनेमा घरमा टिकट बिक्री हुने बित्तिकै प्रतिटिकट मूल्यको दुई प्रतिशतका दरले मनोरन्जन कर तिर्नुपर्ने प्रावधान छ । महानगरपालिकाले २०५६ सालदेखि सिनेमा घरको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरन्जन कर लिन थालेको हो ।