बलीउड अभिनेता अजय देवगनले पाकिस्तानी कलाकारसँग काम नगर्ने बताएका छन्। भारत पाकिस्तानबीच सम्बन्धमा खटपट आएपछि यसले फिल्म उद्योगलाई पनि नराम्ररी छोएको छ।
यसै क्रममा अजयले अहिले पाकिस्तानी कलाकारसँग काम गर्ने योजना नभएको बताएका हुन्। उनले यतिबेला देशको साथमा उभिनुपर्ने बेला भएको बताउँदै भनेका छन्, ‘म सबैभन्दा पहिले भारतीय हुँ र पाकिस्तानी कलाकारसँग काम गर्नेबारे मेरो दृष्टिकोण साफ छ।’
अजयलाई आफ्ना फिल्म पाकिस्तानमा प्रदर्शन नुहनेबारे कुनै चिन्ता छैन। पाकिस्तानी कलाकारले भारतमा आएर कमाए पनि आफ्नो देशलाई नै साथ दिने र उनीहरुबाट आफूहरुले पनि सिक्न पर्ने उनको भनाइ छ।
अजयको यो निर्णयलाई उनकी पत्नी एवं अभिनेत्री काजोलले पनि तारिफ गरेकी छन्। उनले भनेकी छन्, ‘सही निर्णय लिएकोमा मलाई आफ्नो पति प्रति गर्व छ।’