छवि ओझाले निर्माण गरेको चलचित्र ‘लोफर’बाट नेपाली चलचित्रमा डेव्यू गरेकी रजनी केसी अहिलेकी सफल अभिनेत्रीको रुपमा नै चिनिन्छिन् । ‘लोफर’ असफल भएपनि उनलाई चलचित्र ‘परदेशी’ले भने जस्तै सफलता दिलाइदियो । परदेशी सफल भएपछि धेरै निर्माता निर्देशकहरुले उनलाई खोज्न पनि थाले । त्यही क्रममा उनले चलचित्र ‘ब्रासलेट’ र ‘लालजोडी’मा काम गरिन् । तर दुर्भाग्य भनौं उनका यि दुवै चलचित्र एकसाथ प्रदर्शनमा आउने भएका छन् ।
यि दुवै चलचित्र एकसाथ प्रदर्शनमा आउने भएपछि अहिले रजनीलाई राम्रै तनाब छ । कुन चलचित्रलाई प्रमोशनमा कति समय छुट्याउने भन्ने अहिले रजनीलाई गाह्रो भइरहेको छ । रजनी अहिले दुवै चलचित्र आफ्ना लागि प्रतिक्षित भएको भनेर हिँडिरहेकी छिन् । कमेडी कथावस्तुमा तयार भएको चलचित्र लालजोडीमा कमेडी पात्रको रुपमा देखिएकी रजनी चलचित्र ब्रासलेटमा भने सिन्दुर, चुरा, पोते, साडी लगाएर एक हिन्दू महिलाको भुमिकामा देखिँदैछिन् । उनले यो चलचित्रमा लामो समयपछि चलचित्रको पर्दामा फर्किएका रमेश उप्रेतीसँग अनस्क्रिन रोमान्स गरेकी छिन् ।
रजनीका लागि यि दुई चलचित्र जति प्रतिक्षित छन् त्यतिनै अहिले उनलाई यि चलचित्रले तनाब दिइरहेका छन् । निर्माताहरुले प्रमोशनमा समय दिएन भनेर गुनासो पो गर्ने हुन् कि भन्ने डर अहिले रजनीलाई छ । त्यसैले होला रजनी यि दुवै चलचित्रको प्रमाशनमा समय मिलाएर हिँडिरहेकी छिन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन र निर्माण गरेको चलचित्र लालजोडीसँग निर्मल शर्मा निर्देशित केशव भट्टराईले निर्माण गरेको चलचित्र ब्रासलेट मध्ये अब दर्शकहरुले कुन चलचित्रलाई छान्ने हुन् त्यो हेर्न भने भदौ १७ गते नै कुर्नु पर्ने हुन्छ ।