अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लर्कले नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई कुनै दबाव महसुस हुन दिन नचाहेको बताएका छन् ।
क्लर्कले सन्दिपलाई अष्ट्रेलिया लगेका छन् र आफ्नो एकेडेमी वेष्टर्न सबअर्ब्सबाट सिड्नी प्रिमियर क्रिकेटमा खेलाइरहेका छन् ।
आफ्नो बायोग्राफी ‘माइकल क्लर्क’ विमोचनको अघिल्लो दिन सोमबार फेसबुक लाइभमा आएका उनले सन्दिपको खुलेर प्रशंसा गरे । फेसबुक लाइभको सुरुमा नै उनलाई नेपालका फ्यानहरुबाट अभिवादन तथा प्रश्नहरु आएका थिए ।
त्यसको जवाफ दिँदै उनले सन्दिप आफ्नो युवा साथी भएको र उनले अष्ट्रेलियामा राम्रो गरिरहेको बताए । नेपाल र अष्ट्रेलियाको कण्डिसन फरक रहेको भन्दै उनले भने, राम्रो भविश्यका लागि सन्दिपले त्रिकेटमा रमाउनु र सिक्नुपर्छ । र, म उनलाई सहयोग गर्न मन पराउँछु ।’
टी-२० क्रिकेट आफूलाई मन पर्ने भन्दै उनले सन्दिपले पनि छिट्टै अन्तर्राष्ट्रिय टी-२० त्रिकेटमा देखिन सक्ने बताए ।
क्लार्कले फेसबुक लाइभका क्रममा सन्दिपलाई समेत प्रस्तुत गरे । सन्दिपले आफू अष्ट्रेलियामा राम्रो गर्ने प्रयासमा रहेको भन्दै नेपालीको नाम राख्न कुनै कसर बाँकी नराख्ने बताए । -अनलाइन खबर