नायिका संचिता लुइँटेलसँग विवाह गरेपछि नायक निखिल उप्रेती झण्डै ४ बर्ष मुम्बई बसे । ४ बर्षको अवधीमा उनले केही बलीउड फिल्महरुमा स्टन्ट म्यान भएर काम गरे । अनि फेरी नेपाली चलचित्रमा कमब्याक गरे चलचित्र ‘भैरव’ लिएर । आफ्नै लगानी, निर्देशन र अभिनयमा उनले चलचित्र ‘भैरव’ बनाए । चलचित्र ब्लकबाष्टर भयो । त्यसपछि त उनलाई आफ्नो फिल्ममा लिने निर्माताहरुको भिडमा कमी नै भएन । भैरवपछि उनले अहिले एकपछि अर्को गर्दै अन्य व्यानरमा तयार भएका चलचित्र काम गर्दै आइरहेका छन् । ‘भैरव’ चलचित्र सफल भएपछि धेरैले एउटा अडकल पनि काटेका थिए कि फेरी निखिल उप्रेतीले ‘भैरव’ को सिक्वेल बनाउँछन् भनेर तर उक्त कुरालाई गलत सावित गर्दै हिजो मात्र उनले आफ्नै होम प्रोडक्शनको व्यानरमा बन्ने चलचित्र ‘रुद्र’ को घोषणा गरे । यो चलचित्रलाई निखिलले लगानी गर्दैछन् भने आफु भिलेनको भुमिकामा देखिँदैछन् । यही चलचित्रको घोषणा सभामा नायक उप्रेतीले चाँडै ‘भैरव २’ लिएर दर्शकमाझ आउने उद्घोष पनि गरेका छन् । उनले भने -‘दर्शकहरुले भैरवलाई अत्याधिक मनपराउनु भयो । दर्शकहरुले ‘भैरव’ लाई मन पराउनु भयो भन्दैमा म एकपछि अर्को ‘भैरव’ बनाउँदिन । भैरवको त आउँछ नै । ‘भैरव’ ले देशको अवस्थासँग चासो राख्छ । त्यसका लागि धेरै अध्ययन गर्नु पर्छ र म त्यसको तयारी पनि गरिरहेको छु । चाँडै नै ‘भैरव २’ लिएर आउँछु तर त्यसका लागि केही समय लाग्छ ।’ दशैं अघि मात्र चलचित्र ‘राधे’ को छायाँकन सकाएका निखिल उप्रेतीका केही चलचित्रहरु अझै प्रदर्शन हुन बाँकी छन् ।