बलीउडस्टार अमिताभ बच्चन, शाहरुख खान, जूही चावला लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘भुतनाथ’ को निर्देशन र ‘भुतनाथ रिर्टन्स’ को कथा समेत लेखेका निर्देशक एवं निर्माता विवेक शर्माले नेपाली चलचित्र निर्देशन गर्ने भएका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र ‘मेरो पैसा खै ?’ को विषयमा जानकारी दिइएको थियो । नेपाली निर्माता तथा निर्देशक रोज राणाको लगानीमा ‘मेरो पैसा खै ?’ बन्न लागेको हो । रोजलाई चलचित्र निर्माणमा निर्देशक शर्माको पनि सहयोग रहनेछ । निर्देशक शर्माका अनुसार कमेडी जनरामा चलचित्र बन्नेछ, जसमा मान्छेको जीवनमा पैसाले पर्ने प्रभावलाई प्रस्तुत गरिनेछ । कार्यक्रममा बोल्दै विवेक शर्माले चलचित्र ‘मेरो पैसा खै ?’ ११ भाषामा डबिङ गरेर नेपाल र भारतमा एकसाथ रिलिज गरिने जानकारी दिए ।
उनले भने -‘हामी यो चलचित्र नेपाली, तामिल, हिन्दी, अंग्रेजीसँगै अन्य ११ भाषामा डबिङ गर्नेछौ ।’ ‘कल किस्ने देखा’ नामक हिन्दी चलचित्र निर्देशन गरिसकेका शर्माले चाँडै ‘बुद्धम शरणम गच्छामी’ निर्माण र निर्देशन गर्दैछन्, जुन चलचित्रमा अमिताभ बच्चन र मिथुन चक्रवतीको मुख्य भुमिका रहने बताइएको छ । ५०/५० प्रतिशत नेपाल र भारतका कलाकारहरु रहने यो चलचित्रमा भारतीय कलाकार राजपाल यादवको पनि अभिनय रहने कार्यक्रममा निर्देशक शर्माले बताए । कार्यक्रममा बोल्दै निर्माता रोज राणाले भने -‘विवेक शर्मासँग एक कार्यक्रममा भेट भएको थियो । त्यस बेला त्यही ५ मिनेट जति हामीले नेपाली चलचित्रको विषयमा कुराकानी गरेका थियौं । उहाँसँग यसरी दोस्रो पटक भेट हुन्छ भनेर सोचेको पनि थिइन ।’
रोजले अगाडी भने -‘हाम्रो दोस्रो भेटले नै नेपाली चलचित्र बनाउने पक्का भएको थियो । त्यसपछि उहाँले आफ्नो ड्रिम प्रोजेक्टको कथा सुनाउनु भयो र मलाई निकै मन पर्यो । मैले उक्त फिल्ममा लगानी गर्न तयार भएँ ।’ उनले कलाकार छनौटमा आफु हावी नहुने पनि बताएका छन् । यो चलचित्रको छायाँकन भारतको मुम्बई तथा नेपालको मुस्ताङ, पोखरा, काठमाडौंमा हुनेछ । चलचित्रमा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहने पक्का भइसकेको छ । रेदाअंश सिने आर्ट्सको व्यानरमा बन्ने यो चलचित्रको एक महिनापछि भव्य कार्यक्रमका बिच निर्माण घोषणा गरिने तयारी भइरहेको छ ।