पाकिस्तानकी मलाल युसुफजाई जब स्कुलमा गोली खाएरै बालिका पढाउने अभियानमा जुटिन्, त्यहीबेला नेपालकी रिहाना खातुन भने दाइजोको बहानामा जिउँदै जलाइँदै थिइन्। अब त्यस्ता दिन दोहोरिन हुँदैन, पढ्नेले पढ्न, काम गर्न पाउनुपर्छ । र, अनगिन्ती इच्छा चाहना मार्न बाध्य पारिनु हुन्न, महिलालाई– मुस्लिम समाजमा यस्तो चेतनाका आँकुरा अंकुराउँदै छन्।
पाकिस्तानमै धेरै महिला विभिन्न क्षेत्रमा अगाडि बढिसकेका छन्। भारतकै सिनेक्षेत्र होस् वा मोडलिङ, मुस्लिम महिला अघि बढेकै छन्। त्यस्तै नेपालकी पहिलो मुस्लिम हिरोइनका रुपमा ओशिमा बानु पनि नेपाली चलचित्र ‘रोमियो’ बाट उदाउँदै छिन्। सबैले नेपालकी पहिलो मस्लिम हिरोइन भनेर चिन्न थालेपछि ओशिमा बनु ‘कलाकारिता र धर्म’ लाई जोड्न नमिल्ने बताउँछिन् ।
बिहिबार राजधानीमा चलचित्र ‘रोमियो’ को घोषणा कार्यक्रममा उनले आफूलाई कुनै पनि धार्मिक समुदायको युवतीको रुपमा भन्दा अगाडी एउटी अभिनेत्रीको रुपमा हेरिदिए खुसी हुने बताइन्।
‘तपाई नेपालकी पहिलो मुस्लिम अभिनेत्री, ‘रोमियो’ मार्फत चलचित्रमा आउँन पाउँदा कस्तो महशुस गरिरहनु भएको छ ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘चलचित्र क्षेत्रमा म कुन धर्मको हुँ ? भन्दा पनि मैले कस्तो अभिनय गर्छु ? भन्ने प्रश्न बढी महत्वपुर्ण हुन्छ जस्तो मलाई लाग्छ।’ उनले अगाडी थप्दै भनिन्, ‘आफ्नो व्यवसायिक पाटोमा जस्तै चलचित्रका लागि पनि मिहिनेत गरेकी छु। दर्शकलाई मनपर्छ भन्ने आशा छ।’
दुइटा म्युजिक भिडियोमा समेत काम गरिसकेकी ओशिमाले बिजनेस म्यानेजमेन्टमा ब्याचलर गरेकी छिन् र सन् २०१३ देखि ‘हाउस अफ फेसन’ नामक कम्पनी सञ्चालन गर्दै आइरहेकी छिन् । उनले सन २०१२ मा फेस अफ क्लासिक डाइमन्ड नामको प्रतिस्पर्धामा उपाधि जितेकी थिइन् ।