एक समयकी चर्चित नायिका जल शाहलाई दर्शकहरुले पर्दामा देख्न नपाएको पनि झण्डै एक दशक भइसकेको छ । नायक राजेश हमालको मुख्य भुमिका रहेको चलचित्र ‘अवतार’ बाट सोलो नायिकाको रुपमा नेपाली रजतपटमा भित्रिएकी जल शाह अहिले अमेरिकामा बसोबास गर्छिन । जल शाह अमेरिकामा बस्न थालेको लामो समय भइसकेको छ । सरत रिमालसंग बिवाहपछि एक्कासी अमेरिका हानिएकी उनको चर्चा त्यसपछि भने खासै भएको थिएन् । तर यस बर्षको दशैं मान्न भने जल नेपाल आएकी थिइन् । बिहे गरेर ८ बर्षकी छोरीकी आमा पनि भैसकेकी जललाई अहिले ‘धेरै मोटाए छौ नी ?’ भन्ने प्रश्नहरुले वाक्कदिक्क बनाइरहेको छ । तर उनलाई अरुले मोटी भन्दा निकै रिस उठ्छ । नेपाल बसाईको क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, ‘मलाई मोटी भएछौ नी ? भनेर बारम्बार गर्ने प्रश्नबाट वाक्कदिक्क भइसकेको छु र मलाई त्यसरी हरेक पटक भन्दा निकै रिस उठ्छ । मोटाउनुलाई यहाँ किन आश्चर्यजनक रुपमा हेरिन्छ । उनी अगाडी भन्छिन्, ‘हेर्नुहोस् दुब्लाउनु र मोटाउनु सामान्य कुरा हो । यो त भै नै रहन्छ । रानी मुखर्जीको फिगर पनि पहिला कस्तो थियो र अहिले कस्तो भयो ?’
उनले कलाकारितालाई फिगरले मात्र नछेक्ने पनि बताइन् । यसपटक लामै बिदा लिएर नेपाल आएकी जल शाह नेपाली चलचित्रको अभिनयमा फर्कन चाहन्छिन् । जलले अब आफूले महिला केन्द्रित चलचित्रमा काम गर्ने बताइन् । पहिले पनि आफूले नारी केन्द्रित चलचित्रमा नै काम गरेको उनले दाबी छ ।
जलको बुझाइमा विगतको तुलनामा नेपालमा अझ सशक्त चलचित्र निर्माण हुन थालेका छन् । नेपाली चलचित्रसँगै अग्रजदेखि तन्नेरी पुस्ताका कलाकारसँगसमेत उनी साक्षात्कार छिन् । अभिनयसँगै चलचित्र निर्माणमा पनि फर्कने योजना उनले सुनाइन् । ‘आउँदा दिनमा हामी मौलिक नेपाली चलचित्र निर्माण गर्ने योजनामा छौं, नेपालका ग्रामीण भेकमा धेरै मौलिक कथा भएकाले नारीप्रधान चलचित्र निर्माण गर्ने म र मेरो श्रीमान्को योजना छ ।’ अभिनेत्री शाहले भनिन्, ‘मेरा समकालीन अभिनेत्रीहरू चलचित्र निर्देशनमा लागेर स्थापित हुनुभएकामा मलाई साह्रै खुसी लागेको छ । ममा निर्देशन गर्ने क्षमता नभएकाले म अभिनयसँगै चलचित्र निर्माणमा भने आउनेछु ।’
जलले अभिनय गरेका ईश्वर, पराइ घर, शंकर, ठूल्दाई, नेपाली बाबु, एक नम्बरको पाखे लगायतका चलचित्रहरु सफल मानिन्छन् ।