निर्देशक साम्तेन भुटियाले आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेका छन् । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘सुस्केरा’ को निर्माण घोषणा गरिएको छ । मौरी प्रोडक्शनले निर्माण गर्ने यो चलचित्रमा चलचित्र ‘अझै पनि’ बाट डेव्यू गरेकी सुरक्षा पन्त र नव-नायक स्वरुप पुरुष ढकाल मुख्य भुमिकामा रहनेछन् । संगीतकार समेत रहेका स्वरुप पुरुष ढकालले केही बर्षदेखी मुम्बईमा बसेर अभिनय सिक्दै आइरहेका थिए । कार्यक्रममा उनले एक नेपाली र हिन्दी गीत पनि गाएका थिए । चलचित्रले प्रेम गर्न कत्ति मुश्किल हुन्छ भन्ने कथा बोल्नेछ । कार्यक्रममा बोल्दै नायिका पन्तले चलचित्र ‘अझै पनि’ मा काम गरेपछि आफुले केही समय ब्रेक गरेर राम्रो चलचित्रमा काम गर्न लागेको बताइन् । उनले भनिन्, ‘चलचित्र ‘सुस्केरा’ प्रेमलाई कसरि खोजिन्छ भन्ने कथामा बन्न लागेको हो । मलाई विश्वास छ चलचित्रले हामीलाई प्रेम सिकाउनेछ र केही हदसम्म म सिक्दै पनि गएको छु ।’ कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्रलाई शुभकामना दिएका थिए ।
चलचित्रका निर्देशक साम्तेन भुटियाले चलचित्र ‘सुस्केरा’ प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको जानकारी दिँदै २०१७ मा आफ्नो यो सहित ६ वटा चलचित्र रिलिज हुने पनि बताए । उनले निर्देशन गरेको चलचित्र ‘लेटर’ मात्र प्रदर्शनमा आएको छ भने ‘त्यान्द्रो, अनागत’ लगायतका केही चलचित्र अझै प्रदर्शनको तयारीमा रहेका छन् ।
नरेशदेव पन्त चलचित्र ‘सुस्केरा’ को कार्यकारी निर्माता हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । मंसिर १ गतेबाट छायांकनमा जाने यो चलचित्रलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिनेछ ।