आजबाट देशव्यापी प्रदर्शनमा दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नायक जीवन लुइँटेल र नायिका सञ्चिता लुइँटेल स्टारर चलचित्र ‘राधा’ र नायिका विनिता बराल र नायक कुमार विसी अभिनित चलचित्र ‘उमंग’ आजबाट नेपाली हलहरुमा प्रदर्शनमा आएका हुन् । ५१ औं दिन मनाउने तरखरमा रहेको चलचित्र ‘छक्का पन्जा’ र सुखद व्यापार गरिरहेको चलचित्र ‘किस्मत २’ को अगाडी ‘राधा’ र ‘उमंग’ को ओपनिंग कस्तो होला त्यो भने आजैबाट नै थाहा हुनेछ । चलचित्र ‘राधा’ मा योगेश घिमिरेको निर्देशन रहेको छ। यसअघि उनले जीवन र नीता ढुंगानाको जोडी लिएर ‘भुलभुलैया’ र ‘नोटबुक’ निर्देशन गरेका थिए।
विष्णुमणि दाहाल र सुशील कार्कीको संयुक्त लगानी रहेको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा मनकृष्ण महर्जनको छायाँकन छ । त्यस्तै सगरमाथा फिल्म्सको प्रस्तुतीमा कुमार बिसीले निर्माण गरेको चलचित्र ‘उमंग’लाई शिव शर्माले निर्देशन गरेका हुन् । यि दुई नेपाली चलचित्रसँग बलीउडका ठूला र प्रतिक्षित मनिएका दुई चलचित्र पनि प्रदर्शनमा आएका छन् । रणवीर कपूर, एश्वर्या राय र अनुष्का शर्मा स्टारर चलचित्र ‘ए दिल है मुश्किल’ र अजय देवगनको निर्माण, निर्देशन र अभिनय रहेको चलचित्र ‘शिवाय’ पनि आजबाट प्रदर्शनमा उत्रिएका छन् । यि दुई बलीउड चलचित्रले गर्दा दुई नेपाली चलचित्र ‘राधा’ र ‘उमंग’ ले मल्टिप्लेक्समा कम शो पाएका छन् । सिंगल हलहरुमा भने ‘राधा’ ले चलचित्र ‘उमंग’ भन्दा धेरै हल पाएको छ ।