राष्ट्रपति बिद्यादेवी भण्डारीले हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको एकीकृत नमुना बस्ती सिन्धुपाल्चोक गिरानचौरका भूकम्प पीडितहरुलाई हस्तान्तरण गरेकी छिन् । शुक्रबार एक समारोहकाबिच भण्डारीले बस्ती हस्तान्तरण गरेकी हुन् ।
६५ घर रहेको बस्तीका ३ ब्लक मध्ये भण्डारीले एक ब्लक हस्तान्तरण गरेकी हुन् भने अर्को ब्लक सिताराम कट्टेल र कुञ्जना घिमिरेका मातापिताले हस्तान्तरण गरेका थिए । बस्ती हस्तान्तरण गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले आफु सिताराम कट्टेल र कुञ्जना घिमिरेको कामबाट प्रभावित भएको बताउँदै राम्रो काममा सरकारले सधै सहयोग गर्ने पनि बताइन् । त्यस्तै कार्यक्रममा बोल्दै सिताराम कट्टेल र कुञ्जना घिमिरेले आफुहरुले घोषणा गरेअनुरुपको बालमैत्री, अपांगमैत्री, वातावरण मैत्रीलगायत मापदन्ड सबै पुरा गरेको बताए । उनीहरुका अनुसार अपांगता भएका व्यक्तिले सबै घरभित्र ह्विलचियर गुडाएर जान सक्ने तथा बालमैत्री मापदन्डअनुसार संरचनामा बालबालिकाका लागि हुनुपर्ने न्यूनतम सुविधाहरू एकीकृत बस्तीमा रहेको छ ।
बस्तीमा बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै धारा र बालबालिका खेल्नका लागि ‘चिल्ड्रन पार्क’ पनि छ ।
कार्यक्रममा हाँस्यकलार हरिबंश आर्चायले ‘धुर्मुस-सुन्तली’ को कामबाट आफू हर्षविभोर भएको बताए । सरकारले भन्दा छिटो काम गरेर ‘धुर्मुस-सुन्तली’ ले देखाएको भन्दै उनले यसबाट सरकारले पनि सिक्नुपर्ने बताए । यस्तै अर्का कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले गरेको कामको मूल्याङ्कन तथा प्रसंसा गर्ने शब्द नै नरहेको उल्लेख गरे ।