विभिन्न कारणले असोज २१ गतेबाट रिलिज मिति सारिएको नायक निखिल उप्रेती स्टारर फिल्म ‘किङ्ग’ को पुनः रिलिज मिति घोषणा गरिएको छ । सविर श्रेष्ठ निर्देशित फिल्म ‘किङ्ग’ पुस २९ गतेबाट अल नेपाल रिलिज हुने भएको हो। रिलिज मिति घोषणासँगै यही हप्ताबाट फिल्मको प्रचार प्रचार सुरु गर्ने निर्माता जयन श्रेष्ठले जानकारी दिए। एक्सन लभ स्टोरी फिल्म ‘किङ्ग’मा निखिलको साथै नायिका वेनिशा हमालको मुख्य भूमिका रहेको छ। फिल्ममा अनुपबिक्रम शाही, रुपा राना, जगन श्रेष्ठ लगायतको पनि अभिनय देख्न सकिन्छ। योसँगै पुष २९ गते अर्को पनि फिल्म रिलिज हुने भएको छ । फिल्म ‘कारखाना’ ले पुष २९ गतेलाई रिलिज मिति फाइनल गर्दै फस्र्टलुक पोष्टर पनि सार्वजनिक गरिसकेको छ । फिल्म ‘कारखाना’ मा वर्षा राउत र सुशील श्रेष्ठको मुख्य अभिनय रहेको छ। अन्य कलाकार जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायतको अभिनय छ । अमरद्वीप सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा विवाहको मण्डपबाट भागेकी केटीको जीवन कथा उतारिएको बताइएको छ।