सन्जयलिला भन्सालीको सन् २००२ मा प्रदर्शन भएको फिल्म ‘देवदास’ पछि बलिउडका ‘किङ खान’ शाहरुख र ऐश्वर्य राय १४ वर्षपछि भर्खरै एउटा फिल्ममा देखिए। त्यो फिल्म थियो, करण जौहरको भर्खरै प्रदर्शित फिल्म ‘ऐ दिल हे मुश्किल’। पछिल्लो फिल्म ‘ऐ दिल हे मुश्किल’ मा शाहरुखले निकै सानो भूमिका निर्वाह गरेका छन्, ऐश्वर्यको श्रीमानको भूमिका।
उनीहरूको भूमिका दर्शकहरूले यति धेरै मन पराएको बताइएको छ। मिडिया रिपोर्टका अनुसार यसको सफलतापछि करण जौहर आफ्नो अघिल्लो फिल्ममा कुनै बेलाको यो हिट जोडीलाई पुनः पर्दामा उतार्न आतुर देखिएका छन्।
श्रोतका अनुसार करण आफ्नो अघिल्लो प्रोजेक्टमा यी दुवैलाई लिएर फिल्म बनाउने तयारीमा छन्। यसका लागि करणको दिमागमा पहिलेदेखि नै एउटा कथा रहेको बताइन्छ। ‘देवदास’ को सफलतापछि शाहरुख र ऐश्वर्य शक्तिको एउटा गीत ‘इश्क कमिना’ मा पनि संगै देखिएका थिए। फिल्म ‘चलते चलते’ मा पनि यो जोडीको केही भूमिका थियो। फिल्मको केही दृश्यको सुटिङ गरेपछि ऐश्वर्यले बीचैमा फिल्म छोडेकी थिइन्।
त्यति बेला ऐश्वर्यले फिल्म छोड्नुको कारण सलमान खानको चर्चिकला थियो, जुन उनले फिल्मको सुटिङको सेटमै गएर गरेका थिए। सलमान त्यति बेला ऐश्वर्यको प्रेममा पागल थिए। उनी कुनै पनि हिरोसँग ऐश्वर्यले फिल्म खेलेको हेर्न चाहँदैन्थे। त्यसैले उनले सेटमै गएर हंगामा गरेका थिए। पछि ऐश्वर्यको रोल रानी मुखर्जीले गरेकी थिइन्।