यदि तपाईँसँग भारतीय रुपैयाँ ५०० र एक हजारको नोट छ भने आज मध्यरातदेखि त्यो कागजको खोस्टासरह बन्नेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज टेलिभिजनमा सम्बोधन गर्दै राति १२ बजेदेखि भारतमा यी दुई दरका नोट नचल्ने घोषणा गरेका हुन्। योसँगै कोही नेपालीले यस्ता नोट राखेको भए स्वतः अवैध भएका छन्।
अब तत्काललाई नेपालमा यी नोट साट्ने सुविधा नेपाल राष्ट्र बैंकले दिनेछ। डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी काठमाडौँस्थित भारतीय दुतावासबाट औपचारिक जानकारी आएपछि तत्काल यसबारे निर्णय लिने जानकारी दिए। ‘उनीहरुले नै सटहीका लागि जम्मा ५० दिनको समय दिएका छन्, उनले भने- हामी बढीमा १५ दिनको समय दिन सक्छौँ होला।’
बिहीबार राष्ट्र बैंकको नियमित बोर्ड बैठक रहे पनि बुधबारनै आकस्मिक बैठक बसेर यसबारे निर्णय लिन सक्ने उनले जानकारी दिए।
शिवाकोटीका अनुसार राष्ट्र बैंकले ५०० र एक हजारको भारु नोट साटेर नल्याएको भए पनि धेरै नेपालीसँग यी दरका नोट रहेका छन्। विशेष गरी भारतसँगको सीमा क्षेत्रमा यी नोट धेरै चलन चल्तीमा छन्। यी नोट हुनेले तुरुन्त व्यवस्थापन गर्नु पर्ने हुन्छ।
नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकको अनुरोधमा यसअघि भारतीय रुपैयाँ ५०० र एक हजार दरका नोटमा १४ वर्ष प्रतिबन्ध लगाएको थियो। गत वर्षको फेब्रुअरीदेखि मात्र यो प्रतिबन्द हटेको हो।
अब ५०० र १००० भारु कागजको खोष्टा
नोटमा प्रतिबन्ध लगाउँदै प्रधानमन्त्री मोदीले अब यी नोट कागजको खोष्टा सरह बन्ने बताएका छन्। भारतमा यी नोट हुनेले बैंक तथा हुलाक कार्यालयबाट साट्न पाउनेछन्। आउँदो बिहिबार बाट यो सुविधा दिने जनाइएको छ।
बुधबार भने बैंक बिदा हुनेछन्। सबै एटिएम मेसिन समेत बन्द हुनेछन्। एटिएम मेसिन बिहीबार समेत धेरै ठाउँमा बन्द नै रहनेछन्। भारत जस्तो ठूलो अर्थतन्त्रमा बैंक र एटिएम मेसिन बन्द हुँदा देशनै एक किसिमले ठप्प हुनेछ। यसलाई ब्यवस्थापन गर्न भने भारत सरकारलाई ठूलै चुनौती आइलाग्ने देखिन्छ।
बिहीबारदेखि यी नोट हुनेले सटही सुविधा पाउनेछन्। डिसेम्बर अन्तिमसम्म यी नोट बैंक तथा हुलाकबाट साट्न पाइने मोदीले घोषणा गरेका हुन्। साथै भारतीय रिजर्भ बैंकले आफुकहाँ आउनेलाई मार्च २०१७ सम्म सटही सुविधा दिने जनाएको छ। बैंक बन्द रहेको समयमा पनि अनलाइन कारोबार भने खुला रहने जनाइएको छ।
यी नोट साट्न परिचय पत्र अनिवार्य गरिएको छ। एटिएम मेसिन खुले पनि पनि पैसा चलाउन त्यति सहज भने हुनेछैन। किनभने तत्काललाई एटिएमबाट एक दिनमा दुई हजार रुपैयाँ मात्र निकाल्न संभव हुनेछ। १५ दिन पछि चार हजार रुपैयाँ झिक्न पाउने र बिस्तारै सिमा बढाउने मोदीले घोषणा गरेका छन्।
भारु ५०० र २००० को नोटको नयाँ डिजाइन यस्तो छ
प्रधानमन्त्री मोदीको सम्बोधन पश्चात मंगलबार साँझ नै पत्रकार सम्मेलन गरेर रिजर्भ बैंक अफ इन्डियाले बिहिबार देखि ५०० र दुई हजार भारुको नयाँ नोट चलन चल्तिमा ल्याउने जनाएको छ। पत्रकार सम्मेलनमा यी नोटको डिजाइन समेत सार्वजिनक गरियो। दुई हजारको नोटमा मंगल यानको चित्र समेत छ।
कालो धनसँग संघर्ष गर्न भारतीय प्रधानमन्त्रीले यस्तो उपाय अपनाएको बताएका छन्। त्यससँगै पुरानो डिजाइनका ५०० र एक हजारका जाली नोट समेत धेरै छापिएको भारतीय सञ्चार माध्यमले दावी गरेका छन्।
अब कालोधन, ड्रक्स र नक्कली नोटधारीलाई मात्र समस्या पर्ने मोदीले दावी गरेका छन्। आम जनतालाई पनि केहि समस्या हुने भए पनि देशलाई कालोधन र भ्रष्टाचारमुक्त देश निर्माण अभियानमा सर्वसाधारणले सघाउने विश्वास लिएको मोदीले जनाएका छन्।
भारु ५०० र एक हजारका नोटले भारतमा मुद्रास्फिती बढाउन समेत मुख्य भूमिका खेलेको सरकारी अधिकारीले बताएका छन्। सन् २०११ पछि देशको अर्थतन्त्र ३० प्रतिशतले बढे पनि यी नोटको प्रयोग सयौँ गुणा बृद्धि भएको जनाइएको छ।
भारतमा चुनावी प्रयोजनका लागि ठूलो मात्रामा कालोधन प्रयोग हुने गरेको त्यहाँको निर्वाचन आयोगले समेत बताउँदै आएको थियो। मोदी कालोधन नियन्त्रणकै मुख्य एजेन्डा लिएर दुई बर्ष अघि निर्वाचित भएका थिए। आफुले चुनावी बाचा पुरा गर्ननै यो कदम उठाएको उनले बताएका छन्।
मोदीले अत्यन्त गोप्य र चलाखीपुर्ण ढंगले यो निर्णय लिएका छन्। साँझ साढे सात बजै मोदीले आठ बजे देशका नाममा संबोधन गर्ने सूचना आए पनि विषयको सुइँको कसैलाई थिएन। मोदीले भारतीय रिजर्भ बैंकले प्रतिबन्ध व्यवस्थापन गर्न पाँच हजार रुपैयाँको नोट निस्कासनको अनुमति मागे पनि सरकारले दुई हजारको नोटका लागि मात्र स्वीकृति दिएको समेत जानकारी दिए।
भारतीय सञ्चार माध्यमले कालोधन बिरुद्ध मोदीको सर्जिकल स्ट्राइक भन्दै यो कदमको स्वागत गरेका छन्। त्यहाँको कर्पोरेट जगत र अर्थशास्त्रीले समेत यो निर्णयलाई स्वागत गरेका छन्। विपक्षी कांग्रेस भने यो निर्णयको विरोध गरेको छ।
तर, जनसंख्याको ठूलो हिस्सा बैंकिङ क्षेत्रबाट टाढा रहेको भारतमा आम जनतासँग रहेको नगद साट्न भने समस्या हुने सञ्चार माध्यमले बताएका छन्। अन्यत्र नचल्ने भए पनि तत्काललाई अस्पताल र पेट्रोल पम्पमा यी नोट चल्ने मोदीले बताएका छन्। तर, उनको घोषणा लगत्तै पेट्रोल पम्पहरुले समेत ५०० र एक हजारको नोट नलिएको खवर भारतीय टिभी च्यानलले देखाएका छन्।
साथै भारतीय सञ्चार माध्यमले यो प्रकरणमा नेपाललाई समेत मुछेका छन्। आजतकले कालोधन नियन्त्रण मात्र नभइ नेपाल एवं बंगलादेशबाट छिर्ने नक्कली नोट समेत नियन्त्रणका लागि यो कदम उठाएको दावी गरेको छ।