एकसमयकी चर्चित अभिनेत्री निरुता सिंहलाई दर्शकहरुले पर्दामा हेर्न नपाएको पनि अहिले लामो समय भइसकेको छ । १९९३ मा निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दक्षिणा’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी निरुताले त्यसपछिका एक दशक नेपाली चलचित्रमा एकछत्र राज गरिन् । उनले अभिनय गरेका मनमन्दिर, दर्पण छाँया, बन्धकी, दुई किनारा, दुख, आमाको काख, आफन्त, माइती, माइली, सन्तान थरी थरीका, लहना लगायतका दुई दर्जन बढी चलचित्रहरु सुपरहिट छन् ।
सुन्दर र भलाद्मी नायिकाको उपमा पाएकी निरुता सिंह पछिल्लो समय भारतमा बस्दै आइरहेकी छिन् । चलचित्र खेल्न छाडेर उनी लामो समयदेखि मुम्बईमा इन्टेरियर डिजाइनको काम गर्दै आएकी छन्। उनलाई निर्देशक तुलसी घिमिरेले चलचित्र ‘दर्पण छाँया २’ बाट पुन: कमब्याक गराउन नखोजेका होइनन् तर कार्यव्यस्तताका कारण निरुताले उक्त चलचित्रमा काम गरिनन् । त्यसपछि धेरैले अब निरुताको कमब्याक असम्भब रहेको पनि बताउँदै आइरहेका छन् । तर केही दिन अगाडी सिक्किममा आयोजना भएको ‘चौथो इनास अवार्ड’ मा निरुताले सशक्त कथा भेटे नेपाली चलचित्रमा काम गर्न तयार रहेको बताएकी छिन् । उनले अहिले केही साथीहरु मिलेर मुम्बईमा प्रोडक्शन हाउस खोलेको पनि बताएकी छिन् । उनले भनिन्, ‘त्यस प्रोडक्शन हाउसबाट हामीहरु इभेन्टका साथै चलचित्रका कामहरु पनि गरिरहेका छौ ।’
उनले आफु तत्काल भने नेपाली चलचित्रमा आउने सम्भावना कमै रहेको पनि बताएकी छिन् । उनले भनिन्, ‘बीचमा नेपाली चलचित्र गर्ने कुरा भएको थियो । तर मैले सोचे कि मेरो केही बर्ष ब्रेक भइसक्यो अब म नेपली चलचित्रमा आउँदा त्यस्तै पावरफूल भुमिका हुनुपर्छ । मलाई दर्शकहरुले यति धेरै माया गर्नु भएको छ कि अब मैले जस्तो पायो त्यस्तो चलचित्र खेल्न मिल्दैन ।’
उनले यदी आफुले नेपाली चलचित्र गरे राम्रो कथा हेरेर मात्र काम गर्ने बताइन् । उनले अगाडी भनिन्, ‘बरु छोटो भुमिका किन नहोस् तर राम्रो चलचित्रमा काम गर्न चाहन्छु ।’ उनले चाँडै आफुलाई नेपाली चलचित्रमा दर्शकहरुले देख्न पाउने पनि बताएकी छिन् ।
उनले सन् २००८ देखी २०१० सम्म आफ्नो सौख पुरा गर्न इन्टेरियर डिजाइनिङ्ग सिक्नका लागि मुम्बई प्रस्थान गर्दै अभिनयलाई २ बर्षका लागी ब्रेक लगाएकी थिइन । त्यसपछि उनी पुन: नेपाल फर्किएर चलचित्र अभिनयमा लागिनन् । उमेरले ४४ बर्ष लागेपनि उनी हालसम्म भने अविवाहित नै छिन् ।