-दिवस गुरागाईं
नेपाल टेलिभिजन (एनटिभी) बाट प्रशारित एउटा फिल्मी कार्यक्रम हेरेपछि मलाई ‘कुरीकुरी’ लागेर आयो । सिक्किममा भर्खरै सम्पन्न चौथो इनास अवार्ड (कार्तिक २४) ‘यसरी असफल भयो’ भन्ने शीर्षकको त्यो समाचार हदैसम्म तुच्छ र ‘थाङ्ने’ थियो । सिक्किम नै नपुगि मनगणन्ते ढंगले गरिएको रिपोटिङ सुनेर मलाई फिल्मी पत्रकारिता प्रति नै दया लाग्यो । सञ्चारमन्त्री र एनटिभीका अध्यक्षलाई भेटेर सोध्न मन छ, – ‘यही रिपोर्ट मात्र ‘फेक’ हो कि एनटिभीका सबै समाचार यस्तै हुन् ?’
नेपालमा अवार्ड हुँदा जे मन लाग्छ त्यही लेख्ने र बोल्ने गर्दै आएकै हौं । तर चौथो इनास अवार्डले दुई देशलाई जोड्ने प्रयास गर्दै थियो । सिक्किममा नेपाली चलचित्रको बजार बिस्तारको माहोल बनाउन उद्धत थियो त्यो कार्यक्रम । सिक्किम सरकार अवार्ड कार्यक्रम आयोजनालाई भब्य वनाउन कुनै कसर बाँकी नराखि सक्रिय थियो । काठमाण्डौंवाट डेढ सय फिल्मकर्मी बोलाएर स्वागत गर्ने उसको रहरको अर्थ निश्चयनै गहिरो थियो ।
सिक्किमका मूख्यमन्त्रीले पुन घोषणा नै गरे –‘नेपाली फिल्म निर्माण गर्ने निर्मातालाई लागतको ५० प्रतिशत रकम फिर्ता गरिने छ ।’ दुर्भाग्य, मूख्यमन्त्रीको यो ऐतिहासिक घोषणा नेपालमा समाचारसम्म बन्न सकेन । उल्टै ‘थाङ्ने’ प्रबृत्ति बोकेकाले असफल अवार्ड भनेर घोषणा गर्ने प्रयास गरिरहे र नेपाल टेलिभिजनको एउटा कार्यक्रमले महत्वकासाथ त्यसलाई बजाउने काम गरिरहयो । यसको अर्थ के हो ? यो रहस्यको विषय बनेको छ ।
अवार्ड माथि समीक्षा हुनुपर्छ । कमिकमजोरी औंल्याउनु पर्छ । सकारात्मकलाई सकारात्मक भन्न सक्नु पर्छ र नकारात्मक पक्षलाई सप्रमाण पेश गर्न सक्नु पर्छ । पत्रकारिताको मुल धर्म नै यही हो । तर इनास अवार्डका सम्बन्धमा धेरैले धर्म बिर्सेको मेरो अनुभव छ । अघि भेट्दा आयोजकले मसँग हात मिलाएन, वा देखेर पनि हाँसेन वा उ छेउमा आउँदा उसको मुख गनाएको थियो भन्दैमा अवार्ड असफल भन्न मिल्छ कि मिल्दैन ? मैले नबुझेको पक्ष यो पनि हो ।
कार्यक्रम भएको सहर गान्तोकमा म आयोजकसँग बसिनँ । तर उहाँहरुको सम्पर्कमा चाहिँ रहिरहेँ । हुलमुलमा जिउ र अनिकालमा बिउ जोगाउनु पर्छ भन्ने नेपाली उखान पत्रकारितामा पनि उत्तिकै चरितार्थ हुन्छ भन्ने कुरा पढेको थिएँ । चनाखो हुन नसक्दा विदेश भ्रमणमा धेरै पत्रकारहरु छोडिएको प्रमाण छ, मसँग । तर उहाँहरुले आयोजकलाई कहिल्यै गाली गर्नु भएन । बरु आफ्नो कमजोरी स्वीकार्दै अघि बढ्नु भयो । अरुले यस्तो गल्ती नगरुन् भन्नकालागी बरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेत आफ्ना चेला पत्रकारहरुलाई अनुभव वताइरहनु हुन्छ ।
यस अवार्डताका केही पत्रकारलाई लिन होटल पुगेका ३ वटा गाडी र पत्रकारवीच सम्पर्क हुन नसक्दा उनीहरु आफ्नै तालमा नेपाल फर्किनु पर्यो । आयोजकले उनीहरुको थप खर्च बेहोर्ने भन्दै जानकारी गराउँदा पनि कुरा मिलेन भन्ने सुनें । कुरा नमिलेपछि केही पत्रकार साथीहरुले धुँवाधार रुपमा अवार्ड असफल रहेको समाचार लेखिरहनु भएको छ । हिजोआज म यी समाचार पढेर मुस्कुराइरहेको छु । अब्यवस्थाका कारण अवार्ड असफल भएको भन्दै एक पत्रकार मित्रले त ‘आयोजक निन्दा गर्न पनि लायक छैनन्’ भनेर लेख्नु भएको छ । मानौं कलम हुनेले जति मनपरी लेखेपनि हुन्छ । अलिकति झोक चल्यो भने प्राप्त उपलब्धि पनि उल्लेख गर्नुहुन्न भन्ने मान्यताले पत्रकारितालाई कहाँ पु¥याउला ?
सिक्किम सरकारले काँकड्भिट्टा पठाएका ३५ सुविधा सम्पन्न (इनोभा) गाडी चढेर सिक्किम पुग्दा सबैलाई गौरव अनुभुती भयो । अवार्ड कार्यक्रम सकिदासम्म सबैले यो सफल भएको निश्कर्ष निकालेको सुनेँ । अवार्ड भएको भोलीपल्ट मूख्यमन्त्रीको पार्टीमा सहभागी हुँदै हर्षबढाईका साथ रमाइलो मान्दै नाँच्ने र मायाको चिनो समेत थाप्ने ब्यवहार पनि कम्ति रमाइलो थिएन । तर फर्कने दिन बेलुकादेखि एक्कासी अवार्ड कार्यक्रम नै असफल भएको निश्कर्ष पढ्न थालेपछि भने आयोजकहरु एक्कासी झस्केको देखेँ । एउटा सानो चुकको मूल्य यतिधेरै चुकाउनु पर्ला भनेर उनीहरुले सायदै सोचेका थिए ।
इनास अवार्डमा सिक्किम पुगेकी अभिनेत्री तथा नयाँ शक्ति नेपालकी नेतृ करिष्मा मानन्धरलाई गान्तोकको तारे होटल ‘मेहफेयर’ मा राखिएको थियो । तर उनको प्रतिक्रिया सुन्नमा आयो, ‘त्यो होटलको कोठा राम्रो थिएन । त्यसैले छोडेर अर्को कोठामा बसें ।’ होटल मेहफेयर नदेख्नेलाई थाहा नहोला तर देख्नेले भन्ने छन्, ‘यति सुन्दर होटल पनि सिक्किममा रहेछ ।’(मूख्यमन्त्रीले यही होटलमा काठमाण्डौंबाट जानेहरुकालागी रात्री भोजको आयोजना गरेका थिए ।) अत्याधिक महंगो भएकाले हुनसक्छ त्यस होटलमा मनिषा कोइराला, राजेश हमाल दम्पति, करिष्मा लगायत अतिकमलाई मात्र राख्न सकेका थिए आयोजकले । तर, होटल मेहफेयर देखेर आएका पत्रकार साथीहरुले करिष्माको दुखेसो भन्दै कथा लेखेको देख्दा भने अचम्मित भएको छु । दुई देशवीचको एकता र विकासको सोच दशकौं देखी फिल्मी पत्रकारिता गरिराखेकाले बुझ्न नसकेको हो कि बुझ्न नचाहेको हो ? म भन्न सक्दिन । तर चौथो इनास अवार्डलाई निन्दनीय बनाएर मजा मान्नेहरु नेपाली चलचित्रको विकासको पक्षमा हुनै सक्दैनन् भन्ने मेरो बुझाइ छ । मज्जासँग बुझे हुन्छ, दुई देशवीचको सहकार्य केटा–केटीले भाँडाकुटी खेलेजस्तो विषय होइन । विषयको गम्भीरतालाई बुझ्न नसक्नेहरु न पत्रकार हुन सक्छन्, नत फिल्मकर्मी नै । नेपाली चलचित्रको नयाँ बजारको रुपमा सिक्किम स्थापित हुने कुरामा किन केही मान्छेहरुलाई टाउको दुखिरहेको छ ? फिल्म लागतको ५० प्रतिशत रकम बेहोर्ने सिक्किम सरकारको निर्णय किन हाम्रा साथीहरुलाई अपच भइरहेको छ ? यो पनि बुझ्न नसकिने विषय भएको छ ।
फलानाले पाउनु पर्ने अवार्ड फलानाले पायो भनेर यस अवार्डमा विवाद भएन । अन्य कतिपय अवार्ड जस्तो बेचबिखनको आरोप पनि आयोजकले खेप्नु परेन । अवार्ड कार्यक्रम लामो भएपनि झर्कोलाग्दो, अल्छीलाग्दो र पट्यार लाग्दो थियो भन्ने कुरा पनि आएन । सिक्किमको आतिथ्यप्रति कसैको परिपक्व गुनासो पनि आएन । मेरो प्रश्न छ, त्यसो भए कसरी भयो त इनास अवार्ड असफल ?