नायक दयाहाङ राई र नायिका प्रियंका कार्की अभिनित चलचित्र ‘लाल्टिन’ चैत १८ गते रिलिज हुने पक्का भइसकेको झण्डै २ महिना बढी भइसकेको छ । नयाँ बर्ष २०७४ लाई लक्षित गर्दै अहिले धमाधम अन्य निर्माताहरुले पनि चैतको अन्तिममा आफ्नो चलचित्रको रिलिज मिति घोषणा गर्ने क्रम जारी छ । अझ नयाँ बर्षकै दिन त ३ भन्दा बढी नेपाली चलचित्रले आफ्नो रिलिज मिति घोषणा गरिसकेका छन् । नयाँ बर्ष नेपालीहरुका लागी हर्ष र उल्लासको बर्ष मानिन्छ, त्यसैले त नेपाली चलचित्रका लागी पनि नयाँ बर्ष विशेष हुने गर्छ । प्रत्येक नयाँ बर्षमा ३ भन्दा बढी नेपाली चलचित्रहरु प्रदर्शन हुँदै आइरहेका छन् । यो संख्या नयाँ बर्ष २०७४ मा कमी हुने त कुरै भएन । त्यसैले अहिले लगातार निर्माताहरु चैतको अन्तिम साता र नयाँ बर्ष २०७४ को सुरुवातमा आफ्ना चलचित्र रिलिज गर्न हानाथाप गरिरहेका छन् । त्यो भिडबाट नायिका झरना थापा पनि पछाडी हट्न सकिनन् र आफुले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ को रिलिज मिति नयाँ बर्षलाई लक्षित गर्दै चैत १८ गतेलाई फाइनल गरेकी छिन् ।
एस.के.थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर २’ मा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नव नायक सलिनमान बाँनियाको मुख्य भुमिका रहेको छ । मुस्ताङ, तिलिचो ताल लगायतका रमणिय स्थानमा खिचिएको यो चलचित्रको कूल लागत ७५ लाख कटेको चलचित्रका कार्यकारी निर्माता सुनिल कुमार थापाले जानकारी दिए । वुधबार राजधानीमा पत्रकारसँग कुराकानी गर्दै निर्देशक तथा नायिका झरना थापाले निर्देशक बन्न भन्दा कलाकार बन्न नै सजिलो भएको अनुभव साटिन् । उनले भनिन, ‘कामसँगै कलाकारको पिर पनि निर्देशकमाथि हुन्छ । अझ चलचित्रलाई कसरी स्तरीय बनाउने भन्ने विषयमा बढी तनाब निर्देशकलाई हँदो रहेछ ।’ उनले चलचित्र ‘ए मेरो हजुर २’ आफूले सोचे भन्दा पनि राम्रो बनेको पनि बताइन् ।
उनले अगाडी भनिन्, ‘दर्शकहरुले ‘ए मेरो हजुर २’ सिक्वेल नसम्झन आग्रह गर्छु । ‘ए मेरो हजुर’ र ‘ए मेरो हजुर २’ को कथा विल्कुलै फरक छ । हामीले ‘ए मेरो हजुर २’ नयाँ पुस्तालाई लक्षित गरेर तयार पारेका छौ ।’
महँगो पारिश्रमिक लिएर ‘ए मेरो हजुर २’ मा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले काम गरेको पनि निर्माणपक्षले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । चलचित्रमा अनुभव रेग्मी, बुद्धी तामाङ, सलोन बस्नेत, अनुरागमान सिंह कुँवर, विल्सन बिक्रम राईको पनि अभिनय रहेको छ । प्रेम कथामा आधारित रहेर यो चलचित्र निर्माण भएको निर्माता सुनिल कुमार थापाले जानकारी दिए ।