आजबाट एकसाथ तीन नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । नेपाली चलचित्र ‘छायाँ’, ‘द फेमस’ र ‘पुरानो पुस्ता’ ले आज शुक्रबारबाट देशव्यापी प्रदर्शन सुरु गरेका हुन् । बलीउड चलचित्र ‘फोर्स २’ र ‘तुम बिन २’ सँगै हलीउड चलचित्र ‘फ्यान्टास्टिक बिस्ट’ पनि नेपाली हलहरुमा प्रदर्शनमा आएका छन् । एक नेपाली चलचित्र ‘छायाँ’, दुई बलीउड चलचित्र ‘फोर्स २’ र ‘तुम बिन २’ र एक हलीउड चलचित्र ‘फ्यान्टास्टिक बिस्ट’ मल्टिप्लेक्स केन्द्रीत चलचित्र हुन् भने ‘द फेमस’ र ‘पुरानो पुस्ता’ सिंगल हल लक्षित सिनेमा हुन् । दुई बलीउड र एक हलीउड सिनेमा प्रदर्शनमा आएपनि मल्टिप्लेक्समा चलचित्र ‘छायाँ’ ले राम्रो ओपनिङ गर्न सक्ने चलचित्रकर्मीहरुको अनुमान छ । मनोज पण्डितको लेखन र निर्देशनमा बनेको चलचित्र ‘छायाँ’ मा अनुप बराल, अरुणा कार्की, साईब्रत आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । इन्ट्याक्ट मिडियाको प्रस्तुति र भ्वाइस अफ चिल्ड्रेनको निर्माणमा बनेको चलचित्र ‘छायाँ’लाई मनोज पण्डितले निर्देशन गरेका हुन् ।