भारतीय टिभी सिरियलकी एक चर्चित पात्र श्रीति झा नेपालमा जन्मिएकी हुन् भनेर केही महिना अगाडी नेपाली सञ्चारमाध्यमहरुमा निकै हल्लाखल्ला भयो । अहिले जी टिभीबाट प्रशारण हुने ‘कुम कुम भाग्य’ मा प्रज्ञाको भुमिका निर्वाह गरिरहेकी श्रीती खासमा नेपालमा जन्मिएकी होइनन् । तर उनी ६ बर्ष आफ्नो पिता मिथिलेश कुमार झासँग भने काठमाडौं बसेकी हुन् । भारतीय टिभी च्यानल एविपी न्यूजमा अन्तर्वार्ता लिँदै गर्दा उनले भनेकी छिन्, ‘म ६ बर्ष नेपालको राजधानी काठमाडौंमा बसेकी थिए । मेरो बुबाको जागिर त्यही भएका कारण काठमाडौं बसेकी हुँ ।’
उनको उक्त अन्तर्वार्ता हेर्ने हो भने श्रीतिले माध्यमिक तहको शिक्षा नेपालबाट नै लिएकी अनुमान लगाउन सकिन्छ तर उनले उक्त कुरा भने खुलाएकी छैनन् । बिहारमा जन्मिएकी श्रीति झाले अन्तर्वार्ताको क्रममा काठमाडौंमा शिक्षा हासिल गर्दै गर्दा अभिनय गर्ने सौख पलाएको पनि बताएकी छिन् ।
‘इण्डियन अपोइन्स’ अनलाइनलाई आधार मान्ने हो भने श्रीतिले काठमाडौंमा रहँदा मोर्डन इण्डियन स्कूलमा अध्ययन गरेकी थिइन । तर काठमाडौंमा उनले कति कक्षासम्म अध्ययन गरेकी थिइन त्यो चाहिँ खुलाइएको छैन । उनले दिल्ली युनिभर्सिटीबाट ग्रेजुएसन गरेकी छिन् ।
३० बर्षिय श्रीतिले ‘धुम मचालो धुम’, ‘जिया जले’, ‘ज्योती’, ‘सौर्या और सुहानी’, ‘रक्तसम्बन्ध’, ‘सौभाग्यवती भवः’, ‘बालिका बधु’ र हाल ‘कुमकुम भाग्य’ मा काम गरेकी श्रीतिको अहिलेसम्मकै चर्चित पात्र भने ‘प्रज्ञा’ हो । उनले ‘कुम कुम भाग्य’ बाट नै दुई पटक ‘इण्डियन टेली अवार्ड’ र तिन पटक ‘जी रिस्ते अवार्ड’ प्राप्त गरिसकेकी छिन् ।