शुक्रबार बिहान करिब ७ बजे, भद्रकाली मन्दिरको उत्तरतिर रहेको आकाशे पुलमा सर्बसाधारणले निकै ठूलो भिड थियो । सधै व्यस्त देखिने सडक एकाएक भिडले छोपिदै गएपछि धेरैले ठूलै दुर्घटना नै भएछ कि भनेर पनि अनुमान लगाए तर वास्तविकता अर्कै थियो । एक चलचित्रको फाइट दृश्यका लागी नव-नायिका पुष्पा लिम्बु आकाशे पुलको एक छेउको माथिल्लो खण्डबाट हाम्फाल्ने कोशिश गरिरहेकी थिइन । त्यो पनि बिना सेफ्टी बेल्ट । जब उनी बिना सेफ्टी बेल्ट करिब साढे दुई तलाको उचाईबाट सडकमा हाम्फालिन् तब आसपासका सर्वसाधारणहरुको एकपटक त मुटुले ठाउँ नै छोड्यो । पुष्पाको त्यो शाहसलाई देखेर त्यहाँ उपस्थित सर्वसाधारण अचम्मित मात्र होइन ताली पिटेर सम्मान पनि गरे । उनको फाइटको सिनलाई द्धन्द्ध निर्देशक शंकर मह्रजनले कोरियोग्राफी गरेका थिए ।
केहि दिन अगाडी पूर्वका विभिन्न रमणीय स्थानहरुमा ३० प्रतिशत छायाँकन सकिएको चलचित्र ‘रेस’ को अहिले काठमाडौंका विभिन्न स्थानहरुमा छायाँकन भइरहेको छ । ‘छायाँकनको लगभग ४० प्रतिशत काम सकिसकेका छौ’, चलचित्रका निर्देशक किशोर शुब्बाले भने -‘चलचित्र कमेडी र एक्शन प्रधान छ ।’ आफ्नो गाउँ ठाउँबाट संघर्ष गर्दै आफ्नो करियर पुरा गर्न काठमाडौं छिरेका चार पात्रको कथामा चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा नायिका पुष्पा लिम्बुको अलावा राजेश हमाल, नायिका नीता ढुंगाना, किरण केसी, सुलेमान शंकर (इकु), रबिन्द्र खडका र एजेस सैजुका साथै नव प्रस्तुतिमा बिशाल रेग्मीको पनि प्रमुख भुमिका रहेको छ । चलचित्रमा नव-नायिका पुष्पा नायक राजेश हमालकी प्रेमिकाको भुमिकामा छिन् । माता पाथिभरा फिल्म्सको ब्यानरमा प्रस्तुत यस चलचित्रमा किशोर शुब्बाको कथा र मौनता श्रेष्ठको पटकथा तथा सम्बाद रहेको छ । कुमार बखतिको सिनेमाटोग्राफी र गोबिन्द राईको कोरियोफ्राफी रहेको छ ।