तपाई नायिका यूना उप्रेतीलाई चिन्नु हुन्छ ? चिन्नुहुन्न भने बताइदिउँ कि चलचित्र ‘पर्खी बसे’ हेर्नुभएको छ भने सोही चलचित्रकी अभिनेत्री हुन् यूना । उनले अभिनय गरेको पहिलो चलचित्र ‘पर्खी बसे’ सर्वाधिक सफल मानिन्छ । ‘पर्खी बसे’ पछि उनले ‘फ्ल्यास ब्याक’, ‘चन्द्रवती’ लगायतका केही चलचित्रमा काम गरिन् तर ‘पर्खी बसे’ जसरी कसैले पनि सफलता हासिल गरेनन् । उनले खेलेका केही चलचित्र हिट भएपनि चलचित्र बजारमा उनको स्थान गतिलो बनेको थिएन । जसकाकारण अन्य अभिनेत्रीहरु जसरी नै यूनाले पनि अमेरिका रोजिन् । नेपाली चलचित्रक्षेत्रमा उज्वल भविष्य नदेखेपछि उनी पनि एक कार्यक्रमको सिलसिलामा अमेरिका हानिइन । अमेरिका जानु अघि नेपाल फर्किने र चलचित्र खेल्ने बाचासहित उडेकी यूना त्यसपछि अमेरिकामा नै हराइन । उनले हालै फेसबुकमा एक फोटो अपलोड गरेकी छिन्, जुन तस्बिरमा उनी एक यूवकसँग अंकमाल गर्दै गरेको अबस्थामा देखिएकी छिन् ।
उनले ‘माया त माया हो’ भन्दै तस्बिरमा एक क्याप्सन पनि लेखेकी छिन । तस्बिर र उनले लेखेको क्याप्सन हेर्दा लाग्छ उनी उक्त यूवकसँगको गहिरो प्रेममा छिन । केहीले तस्बिरमा जोडी राम्रो सुहाएको छ भन्दै कमेन्ट पनि गरेका छन् । अझ यो सुन्दा तपाई अचम्ममा नपर्नु होला कि उक्त तस्बिर अमेरिकामा नै रहेकी नायिका नन्दिता केसीले खिचेकी हुन् । हुनत, मंसीर महिना लागेको छ यूनाले पनि प्रेमीसँग तस्बिर सार्वजनिक गर्दै विवाह गर्ने संकेत पो देखाएकी हुन् कि ? जे भएपनि उक्त फोटोमा देखिएका यूवा यूनाकै प्रेमी हुन् वा होइनन् त्यो भने उनैलाई थाहा होला । तर मंसीर महिनामा यसरी तस्बिर सार्वजनिक गर्नुले चाहिँ यस्ता कुराहरुको संकेत भने गराउँछ ।
‘पर्खी बसे’ बाट आशा लाग्दो रुपमा उदाएकी यूना अमेरिका हानिएपछि उनको अभाव एकपटक नेपाली चलचित्रलाई नखड्किएको होइन तर उनी अमेरिका छोडेर नेपाली चलचित्रमा आउने आँट गरेकी छैनन् ।