आफ्ना प्रत्येक चलचित्रमा स्टार कास्ट कलाकारहरु लिएर निर्देशन गर्न माहिर मानिने निर्देशक बसन्त निरौलाले निर्देशन गरेको नयाँ चलचित्र ‘समर्पण’ पौष १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । तर, यो चलचित्रमा भने निर्देशक बसन्त निरौललो सबै नयाँ कलाकारहरु लिएका छन् । ‘चलचित्रमा नयाँ कलाकार भएपनि सबैले उत्कृष्ट काम गरेका छन् । हामीले काम हेरेर मात्र नयाँ कलाकारहरुलाई चलचित्रका लागी छनौट गरेका हौ ।’ निर्देशक निरौलाले भने । उनले यसअघि निर्देशन गरेको चलचित्र ‘राजनीति’ मा नायक राजेश हमाल र गायिका कोमल ओली, ‘बिजयपथ’ मा निखिल उप्रेति , सन्चिता लुइटेल र शुशिल क्षेत्री, चलचित्र ‘नाईके’ मा नायक आर्यन सिग्देलले काम गरिसकेका छन् ।
चलचित्र ‘समर्पण’ मा रोजन रखाल, रञ्जु शर्मा, प्रयास तामाङ, रुवी शर्मा, विश्वास लामा, अमृत शाही ठकुरी, आशा भुषाल, अनु पराजुली, बालकृष्ण बञ्जारा, दीपक थापा र कुमार श्रेष्ठको अभिनय छ । चलचित्रलाई रोजन रखालले निर्माण गरेका हुन् भने उनलाई बंगलादेशी नागरिक इमरान सिद्धिकीले पनि निर्माणमा सघाएका छन् ।
निर्माता रोजलका अनुसार, चलचित्र ‘समर्पण’ पारिवारिक कथावस्तुमा निर्माण भएको हो । उनले चलचित्रको कथावस्तु उत्कृष्ट लागेका कारण लगानी गरेको पनि बताएका छन् । उनले चलचित्रका कुनै पनि सिनमा लगानी गर्न कन्जुसायी नगरेको पनि बताए । विश्वास लामाको नृत्य, कुमार महर्जनको द्वन्द्व, तारा थापा किम्भे र किरण अधिकारीको सम्पादन रहेको चलचित्रमा दिव्य सुवेदीको छायांकन छ ।