गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘प्रेमगीत’ को र्शीष गीत सापटी लिएर तयार हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को शुटिङ माघ २१ गतेबाट सुरु हुने भएको छ । ‘प्रेमगीत’ को सिक्वेल ‘प्रेमगीत २’ को छायाँकन सोमबारबाट सुरु भएपछि निर्देशक सुदर्शन थापाले पनि सोमबार नै चलचित्र ‘म यस्तो गीत गाउँछु’ को छायाँकन आरम्भ मिति फाइनल गरेका हुन । ‘प्रेमगीत’ का निर्देशक सुदर्शन थापाले ‘प्रेमगीत’ की नायिका पुजा शर्मा र ‘नाइँ नभन्नू ल ४’ का नायक पल शाहलाई लिएर चलचित्र ‘म यस्तो गीत गाउँछु’ निर्देशन गर्न लागेका हुन । गएको बर्ष प्रेमगीतको यो र्शीष गीतले नेपाली बजारमा धुम नै मच्चाएको थियो । अब चलचित्रले भने कस्तो धुम मच्चाउने हो त्यो भने समयले देखाउनेछ । निर्देशक थापाले चलचित्रका मुख्य कलाकार र प्राविधिकलाई एकै ठाउँमा राखेर चलचित्रको कथा र उनीहरुको भूमिकाको बारेमा सोमबार जानकारी दिएका छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पल र पुजाका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी, नविन मानन्धर, करुन लामा, मोहन निरौला लगायतका कलाकारले अभिनय रहनेछ ।
सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा सुदर्शनकै लेखन तथा निर्देशन रहनेछ । चलचित्रमा दिनेश न्यौपानेको पटकथा तथा संवाद रहने छ । चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल, अन्जु पन्त र अर्जुन पोखरलेको स्वर, कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।
निर्देशक थापाले चलचित्रको लागि आधा बर्ष लगाएर कथा बुनिएको बताउँदै उत्कृष्ट लोकेशनमा मन छुने प्रेम कथा बनाउने बताए ।