यस बर्ष प्रदर्शनमा आएको बलीउडस्टार सलमान खान अभिनित चलचित्र ‘सुल्तान’ लाई गोपीकृष्ण मुभिजले ३ करोड २० लाख दिँदै नेपाल वितरण अधिकार किनेको थियो । यो रकम अहिलेसम्म बलीउडका कुनै चलचित्रलाई तिरिएको थिएन् । तर, उक्त रेकर्डलाई अर्का बलीउड सुपरस्टार आमिर खानले तोडेका छन् । यही शुक्रबारबाट प्रदर्शन हुन लागेको आमिर खान अभिनित चलचित्र ‘दंगल’ लाई गोपीकृष्ण मुभिजले ४ करोड नेपाली रुपैयाँमा खरिद गरेको गोपीकृष्ण मुभिजमा वितरक विभाग प्रमूख निरज पौडेलले जानकारी दिएका छन् । आमिरले संसारभर चलचित्र वितरकलाई कमिशनमा बिक्री गरेपछि नेपालमा पनि ‘दंगल’ कमिशनको सर्तमा भित्राइएको हो। यस पटक आमिरले आफ्नो चलचित्र ‘दंगल’ सबै देशहरुमा कमिशनमा बेचेका छन् । सोही अनुरुप गोपीकृष्ण मुभिजले पनि बाध्य भएर ४ करोड एड्भान्स दिँदै कमिशनमा चलचित्र ‘दंगल’ नेपाल ल्याएको हो ।अब ‘दंगल’ बाट आर्जित मुनाफाको १० प्रतिशत मात्र वितरकले पाउने छन्। नेपालका मल्टिप्लेक्सहरूमा चलचित्र दंगलको बुकिङ खुल्ला भइसकेको छ भने शुक्रबार र शनिबारका सबै शो हाउसफूल समेत भइसकेको खबर छ ।
यो चलचित्र हरियाणाका महावीर सिंहको यथार्थ कथामा आधारित छ। जसका दुई छोरी हुन्छन्, गीता र बबिता। महावीरले पहिले छोरा जन्मिने र रेस्लिङमा गोल्ड मेडल जित्ने सपना देखेका हुन्छन्, जुन पहिले महावीरको आफ्नो सपना थियो। तर, उनका दुवै छोरी जन्मिन्छन् र बाबुको सपना पुरा गर्छन्। आमिर तिनै छोरीलाई विश्वचर्चित रेस्लर बनाउन तालिम दिने बाबुको भूमिकामा छन्। नितेश तिवारी निर्देशित चलचित्रमा साक्षी तान्वर, फतिमा सना शेख, सान्या मल्होत्रा, जरिया वासिम, सुहानी भटनगरलगायतले अभिनय गरेका छन्।