यही महिनाको पुष २८ गते बिहिबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ साशा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका दुई मुख्य कलाकार केकी अधिकारी र कर्मा शाक्यको लोभलाग्दो प्रेम देखाइएको छ । साथी हुँदै सुरु भएको केकी र कर्माको सम्बन्ध कसरी प्रेम सम्बन्धमा परिणत हुन्छ भन्ने कुरा ट्रेलरले बोल्छ । ट्रेलरबाट दर्शकहरु चलचित्र हेर्न उत्साहित हुनेमा दुईमत छैन ।
कर्मा, केकी अधिकारी, शिवानी चालिसे, विकास जोशी, रश्मी भट्ट र आसिफ शाहको मुख्य भूमिका रहेको चलचित्र ‘लभ साशा’ लाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् भने चलचित्रको कथा उनी आफैले लेखेका हुन । ‘साशा’ नामकी केकी र ‘पर्ल’ नामका कर्माको भगाईको यात्रालाई चलचित्रमा देखाइएको छ । पपकर्न पिक्चर्सद्धारा प्रस्तुत र प्रिन्सेस मुभिज र द.टि फोक्स फिल्मसको निर्माण रहेको चलचित्र ‘लभ साशा’ लाई माधव वाग्लेलले निर्माण गरेका हुन । चलचित्रका निर्देशक प्रचण्डमान श्रेष्ठले चलचित्र ‘लभ साशा’ मित्रता, प्रेम, दया, स्नेह र जीवन दर्शनजस्ता विभिन्न भोगाईहरुको मिश्रण रहेको बताए । त्यस्तै चलचित्रकी नायिका केकी अधिकारीले आफुले चलचित्रमा निर्वाहा गरेको ‘साशा’ नामकी पात्रले सम्रग नेपाली यूवतीहरुको प्रतिनिधित्व गर्ने बताइन । उनले भनिन्, ‘मलाई चलचित्र लभ साशामा काम गरेपछि यो महशुस भयो कि मैले अहिलेसम्म अन्य चलचित्रमा दुख नै गरेकी रहेनछु । ‘लभ साशा’ मेरो लागि करियरकै सबैभन्दा उत्कृष्ट चलचित्र सावित हुनेछ ।’
वुधबार आयोजित चलचित्र ‘लभ सासा’ को ट्रेलर र एक गीत सार्वजनिक कार्यक्रममा चलचित्रका नायक कर्मा भने उपस्थित भएका थिएनन् । शिवराम श्रेष्ठको छायाँकन रहेको चलचित्र ‘लभ साशा’ मा लोकेश बज्राचार्यको सम्पादन, जेसन कुवँरको संगीत रहेको छ ।