बर्षौपछि नेपाली चलचित्र चलचित्र ‘छक्का पन्जा’ ले प्रदर्शनको सय दिन मनाउन सफल भएको छ । गएको भदौ २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले गएको शनिबार प्रदर्शनको सय दिन पार गरेको हो । हास्यकलाकार आरपी भट्टराईको निधन भएपछि सय दिनको खुसीयाली मनाउन नपाएको ‘छक्का पन्जा’ टीमले वुधबार भने ललितपुरको श्रीकाली चौरमा एक कार्यक्रमको आयोजना गर्दै सय दिनको खुसी साटेको छ । सय दिन प्रदर्शनको रेकर्ड राखेको अवसरमा आयोजित सेलिव्रेशन कार्यक्रममा चलचित्रका कलाकारदेखी पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । १५ करोडमाथीको ग्रस कलेक्शन गरिसकेको चलचित्र ‘छक्का पन्जा’ ले पहिलो पटक मल्टिप्लेक्समा समेत सय दिन मनाएको छ । यसअघि कुनै पनि नेपाली चलचित्रले मल्टिप्लेक्समा सय दिन मनाएका छैनन् । कार्यक्रममा चलचित्र ‘छक्का पन्जा’ निर्माणदेखी प्रदर्शनसम्म सहयोग गर्ने कलाकार, प्राविधिकदेखी पत्रकारहरुलाई निर्माणपक्षले मायाको चिनो प्रदान गरेको थियो । चलचित्र निर्माणमा मिहिनेत गर्ने प्राविधिकका लागि बोनश वितरण गरिएको निर्माता दीपकराज गिरीले बताए । यो चलचित्रमा शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ ।